मंगलवार, पौष १५ २०८२
१५ पुस, बुढानीलकण्ठ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) अन्तर्गतको स्कुल काउन्सिलिङ एण्ड वेलबिइङ सपोर्ट सेन्टरको आयोजनामा मंगलबार ‘स्कुल काउन्सिलर्स समिट–२०२५’ सम्पन्न भएको छ।
“School Counseling as a School Culture” (विद्यालय संस्कृतिको रूपमा विद्यालय परामर्श) भन्ने मूल नाराका साथ काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको स्कूल परामर्श र कल्याण सहायता केन्द्र (School Counseling and Wellbeing Support Center) ले इम्पेरियल वर्ल्ड स्कुलसँगको सहकार्यमा भएको शिखर सम्मेलन सम्पन्न भएको हो।

उक्त सम्मेलनमा मानसिक स्वास्थ्य र परामर्श क्षेत्रका विज्ञहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय परामर्श सेवा अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।
कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौं विश्वविद्यालयका उपकुलपतिले विद्यालय परामर्शदाताले भोगिरहेका तीन प्रमुख चुनौती औंल्याउँदै एकल परिवारको बढ्दो प्रवृत्ति, प्रविधिको अत्यधिक प्रयोगबाट बालबालिकाको मानसिकतामा परेको असर, र विखण्डित हुँदै गएको समाजलाई मुख्य समस्या बताए। उनले यी चुनौतीको सामना गर्न विद्यालय परामर्शदाताको भूमिका सहयोगी मात्र नभई नेतृत्वदायी हुनुपर्नेमा जोड दिए।

सम्मेलनको प्रमुख आकर्षणका रूपमा राजेश खड्का, FCCA, Certified Workplace Mental Health & Wellbeing Instructor को मुख्य वक्ता (Keynote Address) रहेका थिए। उनले कक्षाकोठामा माइन्डफुलनेस कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए। माइन्डफुलनेस प्रभावकारी बनाउन करुणा, प्रज्ञा, एकाग्रता लगायत आठवटा तत्वको अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी शिक्षा मन्त्रालयका सहसचिवले विद्यालय तहमा परामर्श सेवालाई नीतिगत रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
सम्मेलनमा अभ्यासकर्ताहरूको संवाद (Practitioners’ Dialogues) सत्र तथा चिन्तनशील शिक्षा र मनोवैज्ञानिक कल्याणको जर्नल (Journal of Contemplative Education and Psychological Wellbeing) जर्नलको दोस्रो संस्करण प्रमुख अतिथी वाग्ले लगाएत अतिथिहरुले विमोचन गरेका थिए।

सम्मेलनको मुख्य आकर्षणका रूपमा दुईवटा विशेष सत्रमा शैक्षिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ८ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएको थियो। पहिलो सत्रमा आरती लामिछानेले चिन्तनशील अभ्यास, लक्ष्मी सिवाकोटीले सामाजिक तथा भावनात्मक सिकाइ (SEL), रोशनी सिलवालले आमा–बच्चाबीचको भावनात्मक सम्बन्ध र दीक्षा पाण्डेले शिक्षक–विद्यार्थीबीचको समानुभूतिपूर्ण अन्तरक्रिया विषयमा प्रस्तुति दिएका थिए।
त्यस्तै, दोस्रो सत्रमा राशिका पोखरेलले शिक्षकको पेसागत सन्तुष्टि र इकिगाइ, मनिष शंकर श्रेष्ठले करिअर काउन्सिलिङ, हिक्मत दाहालले गायत्री मन्त्र र सामाजिक–भावनात्मक सिकाइ, तथा सुलोचना न्यौपानेले शैक्षिक उपलब्धिमा अभिभावकत्वको शैली विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा ‘स्कुल काउन्सिलिङ: अभ्यास र अनुभव’ विषयक प्राक्टिसनर्स डायलग सञ्चालन गरिएको थियो। डा. चेतनाथ पन्तको सहजीकरणमा भएको उक्त संवाद सत्रमा पार्वती पाण्डे, तपस्या बुढाथोकी र युक्त अर्याल प्यानलिस्टका रूपमा सहभागी थिए। उनीहरूले विद्यालयमा परामर्श सेवा कार्यान्वयन गर्दा देखिने व्यावहारिक चुनौती र समाधानबारे छलफल गरेका थिए।

कार्यक्रम काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. बालचन्द्र लुइटेलको स्वागत मन्तव्यबाट सुरु भई डा. गिरिशा रावल र राशिका पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो। समिट काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका कार्यक्रम प्रमुख डा. श्रीकृष्ण वाग्लेले कार्यक्रमको समिक्षा मन्तव्य दिए। अन्त्यमा सभाध्यक्ष माधव प्रसाद खतिवडाको समापन मन्तव्यसँगै समिटको समापन भएको थियो।



