मंगलवार, माघ १४ २०८२
१३, माघ/ काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीमा अवस्थित द सनसाइन स्कुल तथा कलेजले आयोजना गरेको वार्षिक खेलकुद सप्ताह (स्पोर्ट्स मीट–२०८२) भव्य रूपमा शुभारम्भ भएको छ। मंगलबार एक विशेष मार्चपाससहित स्पोर्ट्स मीटको उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका नगर शिक्षा समिति प्रमुख तथा नगर परिषद् सदस्य एवं वडा सदस्य मैया लक्ष्मी महर्जन रहनुभएको थियो। उक्त खेलकुद शुभारम्भ कार्यक्रमको सभापतित्व विद्यालयका प्रिन्सिपल बाबुराम गौतमले गर्नुभएको थियो भने भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारीले मन्तव्य राख्नुभएको थियो।

स्पोर्ट्स मीट–२०८२ अन्तर्गत बास्केटबल, टेबलटेनिस, भलिबल, फुटसल, खोखो, म्याथ रेस, स्केटिङ, म्याराथन, म्युजिकल चियरलगायत करिब २० वटा खेलहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ। कक्षा युकेजी, एक र दुईका अभिभावकहरू समेत केही खेलमा सहभागी हुने व्यवस्था गरिएको छ।

करिब ६ सय विद्यार्थीको सहभागिता रहने खेलकुद सप्ताह माघ १८ गतेसम्म सञ्चालन हुने छन्। माघ १८ गते समापन कार्यक्रमसहित उत्कृष्ट खेलाडी तथा टोलीहरूलाई पुरस्कार वितरण गरिने प्रिन्सिपल बाबुराम गौतमले जानकारी दिनुभयो।

