शुक्रवार, फाल्गुण १ २०८२
काठमाडौँ, २०८२ फागुन १ – नेपाल मेडिकल काउन्सिलले आगामी विशेष परीक्षा (Special Examination) का लागि अनलाइन आवेदन खुला गरेको छ। काउन्सिलले एक सुचना जारी गर्दै समयमै आवेदन दिन अनुरोध गरेको हो।
काउन्सिलका अनुसार विशेष परीक्षा २०८२ चैत्र १९ र २० गते (सन् २०२६ अप्रिल ०२–०३) सञ्चालन हुनेछ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक मा आयोजना गरिनेछ।
अनलाइन फाराम भर्ने मिति २०८२ फागुन ०१ गतेदेखि फागुन २८ गतेसम्म तोकिएको छ। नियमित शुल्कको अवधि समाप्त भएपछि फागुन २९ र ३० गते विलम्ब शुल्कसहित आवेदन दिन सकिनेछ।
आवेदन फाराम काउन्सिलको आधिकारिक वेबसाइट exam.nmc.org.np मा दिइएको निर्देशनअनुसार भर्नुपर्नेछ। अनलाइन माध्यमबाट मात्र फाराम र शुल्क स्वीकार गरिने जनाइएको छ। अन्य माध्यमबाट बुझाइएको आवेदन र शुल्क मान्य नहुने स्पष्ट गरिएको छ।
काउन्सिलले अनलाइन आवेदन प्रणाली चौबिसै घण्टा खुला रहने जनाएको छ।
विदेशमा अध्ययन गरेका विद्यार्थीका लागि विशेष व्यवस्था नेपाल बाहिर चिकित्साशास्त्रको स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरी फर्किएका विद्यार्थीहरूले आधिकारिक समकक्षता (Equivalent) प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। उक्त समकक्षता प्रमाणपत्र काउन्सिलको २०७७ मङ्सिर २९ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार हुनुपर्ने उल्लेख गरिएको छ।
यसैगरी, विदेशमा अध्ययन गर्न गएको मितिदेखि अध्ययन पूरा गरी नेपाल फर्किएको मितिसम्मको अध्यागमन विभागबाट जारी आगमन तथा प्रस्थानसम्बन्धी पूर्ण विवरणयुक्त आधिकारिक पत्र (भारत बाहेक) पनि अनिवार्य कागजातका रूपमा संलग्न गर्नुपर्नेछ।
