बिहिवार, चैत्र ५ २०८२
काठमाडौं । पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायले स्नातकोत्तर तहका विभिन्न कार्यक्रम (March Intake–2026) मा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। विश्वविद्यालयले छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ को आधारमा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो।
पोखरा विश्वविद्यालयका आङ्गिक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजहरूमा १० प्रतिशत छात्रवृत्ति कोटा निर्धारण गरिएको छ। छात्रवृत्ति मुख्यतः सार्वजनिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरी SEE वा SLC उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरिएको भए पनि संस्थागत विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूले पनि प्रतिस्पर्धामा भाग लिन सक्नेछन्।
छात्रवृत्तिका प्रकारमा खुल्ला, स्थानीय, दलित, जनजाति, दुर्गम, अपाङ्ग तथा शहीद/आन्दोलन घाइते परिवार, शिक्षक–कर्मचारी सन्तति र मधेसी समुदाय समावेश छन्। कुल सिटमध्ये ६० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र ४० प्रतिशत समावेशी समूहका लागि छुट्याइएको छ भने महिला उम्मेदवारका लागि प्रत्येक कोटामा ५० प्रतिशत आरक्षण व्यवस्था गरिएको छ।
विश्वविद्यालयका अनुसार योग्यताक्रम (मेरिट लिस्ट) का आधारमा पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणमा छात्रवृत्ति सूची प्रकाशित गरिनेछ। सार्वजनिक विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिइनेछ भने आवश्यक सिफारिससहित अनलाइन आवेदन फाराम भर्नुपर्नेछ। संस्थागत विद्यालयका विद्यार्थीलाई भने सिफारिस पत्र आवश्यक नपर्ने जनाइएको छ।
रुचि भएका उम्मेदवारहरूले तोकिएको ढाँचामा अनलाइन आवेदन भरी आवश्यक कागजात अपलोड गर्नुपर्नेछ।



