आइतवार, जेठ १७ २०८३
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले शिक्षा प्रणालीमा आमूल सुधारका विषयमा व्यापक छलफल गर्दै शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि ‘विद्या परिषद्’ गठन गरेको छ। शुक्रबार र शनिवार दुइदिन काठमाडौँँको बुढानिलकण्ठ स्थित एक सभाहलमा बसेको बैठले शिक्षामा आमूल सुधार गर्ने बारे छलफल गर्दै ७ सदस्यीय परिषद् गठन गरेको हो।

बैठकलाई सम्बोधन गर्दै नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले शिक्षा सुधारका लागि पाठ्यक्रम परिवर्तन मात्र पर्याप्त नहुने बताउँदै राष्ट्रले कस्तो नागरिक उत्पादन गर्ने भन्ने स्पष्ट शैक्षिक उद्देश्य निर्धारण गर्नुपर्ने धारणा राखे। उनले भने, “शिक्षामा सुधार ल्याउने हो भने पाठ्यक्रम परिवर्तन मात्र पर्याप्त हुँदैन। पाठ्यक्रम विकास सुरु गर्नुभन्दा पहिले राष्ट्रले कस्तो नागरिक उत्पादन गर्ने भन्ने स्पष्ट शैक्षिक उद्देश्य तय गर्न आवश्यक हुन्छ। त्यसपछि मात्र त्यसअनुसारको पाठ्यक्रम निर्माण गरिनुपर्छ।”
अध्यक्ष न्यौपानेले पाठ्यक्रम निर्माणलाई अध्ययन, अनुसन्धान, परामर्श र परीक्षणमा आधारित दीर्घकालीन प्रक्रिया भएको उल्लेख गर्दै हतारमा तयार गरिएका पाठ्यक्रमले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने बताए। उनले शिक्षा क्षेत्रमा नीति, नियमावली र कार्यान्वयनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा समेत जोड दिए।

बैठकमा महासचिव प्रकाश खड्काले वर्तमान शिक्षा प्रणालीलाई समयानुकूल बनाउन आवश्यक रहेको बताउँदै शिक्षाले केवल परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी मात्र नभई सक्षम, जिम्मेवार र सिर्जनशील नागरिक उत्पादन गर्नुपर्ने धारणा व्यक्त गरे। “विद्यालय कसरी राम्रो बनाउने भन्ने विषयमा मात्र सीमित नभई देशलाई आवश्यक पर्ने जनशक्ति कसरी तयार गर्ने भन्ने दीर्घकालीन सोच आवश्यक छ,” उनले भने, “हाम्रो लक्ष्य शिक्षित मात्र होइन, दक्ष, नैतिक र जिम्मेवार नागरिक तयार गर्नु हो।”
उनले विद्यालय, शिक्षक तथा विश्वविद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा क्षेत्रका सबै सरोकारवालाबीच साझा लक्ष्य र सहकार्यको संस्कृति विकास गर्नुपर्ने बताए। बैठकले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि नैतिक शिक्षा, प्रभावकारी अनुगमन, व्यावहारिक सिकाइ तथा परिणाममुखी शिक्षण पद्धतिलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी नेशनल प्याब्सनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले आ-आफ्नो रिपोटिङ सहितको मन्तव्य राखेका थिए। उनिहरुले स्पष्ट राष्ट्रिय शैक्षिक उद्देश्य, व्यवस्थित पाठ्यक्रम तथा प्रभावकारी कार्यान्वयनबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन सम्भव हुने धारणा व्यक्त गरेका थिए।
साथै निजी विद्यालयहरू शिक्षा क्षेत्रका महत्वपूर्ण साझेदार भएकोले सरकारले निजी विद्यालयप्रति हेर्ने दृष्टिकोण र व्यवहारलाई थप सकारात्मक, सम्मानजनक र सहयोगी बनाउन भुमिका खेल्नुपर्ने धारणा ब्यक्त गरे।
यसैबीच, शिक्षा क्षेत्रको अध्ययन, अनुसन्धान तथा नीतिगत सुझावका लागि संस्थापक तथा वरिष्ठ उपाध्यक्ष रामविनय चौरासियाको संयोजकत्वमा सात सदस्यीय ‘विद्या परिषद्’ गठन गरिएको छ। परिषद्ले शिक्षा नीति, पाठ्यक्रम विकास, शैक्षिक गुणस्तर तथा समसामयिक शैक्षिक विषयमा अध्ययन गरी संगठनलाई सुझाव दिने अपेक्षा गरिएको छ।
यस्तो छ परिषदमा रहेका सदस्यहरुको नामावली
१. शिवराज पन्त- एल. आर. आई. स्कूल
२. डा. राजेन्द्र के.सी., साउथ वेस्टर्न स्टेट स्कूल / कलेज
३. डा. मिथिलेश कुमार झा, काठमाडौँ वर्ल्ड स्कुल
४. डा. विनोद यादव, माछापुच्छ्रे आइ. बि. वर्ल्ड स्कुल
५. दिप्ती आचार्य, सस्कृति इन्टरनेशन स्कुल
६. सुलम बुढाथोकी, इस्लिङ्टन कलेज

समिति गठन पश्चात् समितिका सदस्यहरुले आफ्नो मन्तव्य राख्दै “शिक्षा क्षेत्रका चुनौती र अवसरहरूको गहिरो अध्ययन गर्दै नीतिगत सुझाव दिन परिषद्ले सक्रिय भूमिका खेल्ने बताए। “
नेशनल प्याब्सनले आगामी दिनमा शिक्षा सुधार, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा राष्ट्रिय आवश्यकता अनुसारको जनशक्ति उत्पादनका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
