मंगलवार, जेठ १९ २०८३
काठमाडौँ, १९ जेठ । काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्ति प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले उपकुलपति नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्रीको अध्यक्षतामा सम्पन्न बैठकले योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न समिति गठन गरेको जनाएको छ। समितिको संयोजकमा सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री पोखरेल रहनुभएको छ।
समितिका सदस्यमा रेशु अर्याल ढुंगाना र सुरेश राज शर्मा रहनुभएको छ। ढुंगाना राष्ट्रिय योजना आयोगकी सदस्य हुनुहुन्छ भने शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन्।
विश्वविद्यालयले समितिलाई उपकुलपति पदका लागि योग्य, सक्षम र दूरदर्शी नेतृत्व छनोट गरी सिफारिस गर्ने जिम्मेवारी दिएको छ। यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।
नेपालको उच्च शिक्षामा महत्वपूर्ण स्थान बनाएको काठमाडौँ विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ। विश्वविद्यालयको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयलाई शैक्षिक क्षेत्रले चासोका साथ हेरिरहेको छ।
नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक दिशा, अनुसन्धान विस्तार, अन्तर्राष्ट्रियकरण र संस्थागत सुधारका विषयमा थप अपेक्षा गरिएको छ।