मंगलवार, आषाढ २ २०८३
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको छैटौं दीक्षान्त समारोह आगामी असार १२ गते (जुन २६, २०२६) शुक्रबार बिहान १० बजे आयोजना हुने भएको छ।विश्वविद्यालयले एक सूचना जारी गर्दै सोको जानकारी दिएको हो।
दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयबाट प्राप्त ग्रेस कार्डसहित बिहान ९ बजेभित्र समारोह स्थलमा प्रवेश गरी तोकिएको स्थानमा बसिसक्नुपर्ने सूचनामा उल्लेख छ।
समारोहका लागि आवश्यक गाउन, स्कार्फ र टोपी असार २ गतेदेखि ९ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिनेछ। सामग्री लिन जाँदा विद्यार्थीहरूले एमआरपी (MRP) साइजका दुई प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। समारोहको दिन भने गाउन, स्कार्फ र टोपी वितरण नगरिने भएकाले निर्धारित अवधिभित्रै सामग्री बुझिसक्न विश्वविद्यालयले आग्रह गरेको छ।
छात्रहरूले कोट, पाइन्ट, टाईसहितको औपचारिक पोशाक तथा छात्राहरूले औपचारिक पोशाक वा साडीसहित विश्वविद्यालयले उपलब्ध गराएको गाउन, स्कार्फ र टोपी लगाउनुपर्ने सूचनामा उल्लेख छ।
दीक्षान्त प्रमाणपत्र विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरस्थित काउन्टरबाट वितरण गरिनेछ। समारोहमा उपस्थित हुन नसकेका वा सो दिन प्रमाणपत्र लिन नभ्याएका विद्यार्थीहरूले पछि परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
यसैबीच, गाउन, स्कार्फ र टोपी असार १५ गतेदेखि २२ गतेसम्म फिर्ता बुझाउनुपर्नेछ। सामग्री फिर्ता गरेपछि मात्र रु. ४ हजार धरौटी रकम बैंकमार्फत फिर्ता गरिने कार्यालयले जनाएको छ। निर्धारित समयभित्र सामग्री फिर्ता नगर्ने विद्यार्थीलाई विलम्ब शुल्क लाग्ने र अन्तिम समयसीमाभित्र पनि धरौटी नलगेमा रकम ल्याप्स हुने व्यवस्था गरिएको छ।
