बुधवार, श्रावण ६ २०७८
मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत विद्यार्थीहरुले मंगलबार उपकुलपति एवम् रजिस्ट्रारको पुत्ला दहन सहित राँके जुलुस प्रदर्शन गरेका छन् । उपकुलपतिले हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजिरहेको आरोप लगाउँदै विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा जुटेका हुन् । 
यसअघि संयुक्त विद्यार्थीको सङ्गठनले आइतबार २४ घण्टा अल्टिमेटम सहित१८ बुँदे माग पत्र विश्वविद्यालयलाई राखेका थिए । मागपत्रमा भनिएको छ, 'भौतिक निर्माण मा गति लिएपनी बिश्वबिद्धालयका पधाधिकारी हरुको लापरबाहीका कारण शैक्षिक अवस्था नाजुक बनेकोले बिध्यार्थी आन्दोलन्मा उत्रिनु परेको हो ।'
माग पूरा नभएसी मंगलबार साँझ विश्वविद्यालय परिसरमा ‘नालायक भिसी चाहिँदैन, विद्यार्थीको भविष्य बिगार्न पाइँदैन, भिसी चोर विश्वविद्यालय छोड, संयुक्त विद्यार्थी आन्दोलन जिन्दाबाद’ लगायतका नाराहरू लगाएका थिए । विद्यार्थीहरूले गरेको आन्दोलनको कारण साँझ ६ बजेको समय विश्वविद्यालय तनावग्रस्त बनेको थियो ।
अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह–संयोजक तिर्सना हमालले भौतिक संरचना निर्माणमा गति लिइरहँदा शैक्षिक सवालमा विश्वविद्यालयको अवस्था नाजुक रहेकोले विद्यार्थीहरू एक ठाउँमा उभिएर समीक्षा गर्ने बेला आएको बताइन् । 
उनले भनिन्,‘ उपकुलपति नन्दबहादुर सिंह ज्युको अराजकता र विद्यार्थीको भविष्य माथि खेलबाड भइरहेको छ। हामीले राखेको १८ बुँदे माग सम्बोधन नहुँदासम्म आन्दोलन निरन्तर जारी रहनेछ।


