Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रमाणमा आधारित नीति अनुसन्धानका लागि मध्यपश्चिम विश्वविद्यालयमा ‘नीति प्रयोगशाला’ परियोजना शुभारम्भ

प्रमाणमा आधारित नीति अनुसन्धानका लागि मध्यपश्चिम विश्वविद्यालयमा ‘नीति प्रयोगशाला’ परियोजना शुभारम्भ

  • 167
    SHARES

  • प्रमाणमा आधारित नीति अनुसन्धानका लागि मध्यपश्चिम विश्वविद्यालयमा ‘नीति प्रयोगशाला’ परियोजना शुभारम्भ

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयमा प्रमाणमा आधारित नीति अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नीति प्रयोगशाला (Policy Lab)’ परियोजना औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम को सहयोगमा सञ्चालन हुने परियोजनाको ‘किक-अफ’ बैठक असार ३२ गते धुलिखेल, बनेपामा सम्पन्न भएको हो।

    FB_IMG_1784305152677.jpg

    बैठकमा यूएनडिपी, मध्यपश्चिम विश्वविद्यालयसहित चार विश्वविद्यालयका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको संघीय शासन प्रणालीलाई थप प्रभावकारी, जवाफदेही तथा प्रमाणमा आधारित बनाउन विश्वविद्यालयहरूको अनुसन्धान क्षमता अभिवृद्धि, नीति संवादको विस्तार तथा सरकारी निकायसँगको सहकार्य सुदृढ गर्ने लक्ष्यबारे छलफल गरिएको थियो। यूएनडिपी र मध्यपश्चिम विश्वविद्यालयबीच भएको सम्झौताअनुसार परियोजना ८ जुलाई २०२६ देखि ३० जुन २०२८ सम्म सञ्चालन हुनेछ। परियोजनाका लागि आवश्यक आर्थिक सहयोग यूएनडिपीले उपलब्ध गराउनेछ।

    परियोजनाअन्तर्गत मध्यपश्चिम विश्वविद्यालयमा नीति प्रयोगशालालाई संस्थागत रूपमा सुदृढ गर्दै संघीय शासनसम्बन्धी अनुसन्धान, तथ्याङ्क सङ्कलन र विश्लेषण, नीतिपत्र निर्माण, प्रदेश तथा राष्ट्रियस्तरका नीतिगत संवाद, युवा तथ्याङ्क दूतको क्षमता विकास तथा अनुसन्धानका निष्कर्षलाई सार्वजनिक नीतिसँग जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ।

    FB_IMG_1784305139284.jpg

    बैठकमा अन्तरसरकारी सम्बन्ध, वित्तीय संघीयता र आन्तरिक स्रोत परिचालन, डिजिटल शासन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा जवाफदेहितालाई अनुसन्धानका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने विषयमा सहमति भएको थियो। सहभागी विश्वविद्यालयहरूले आ–आफ्नो विषयगत क्षेत्रमा नेतृत्व गर्दै अनुसन्धानलाई नीति सुधारसँग जोड्ने प्रतिबद्धता जनाएका छन्।

    कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह–प्रा. ई. डा. राजन सुवाल ले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि सहभागितामूलक दृष्टिकोण आवश्यक रहेको बताए। विश्वविद्यालय, सरकारी निकाय, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायबीचको सहकार्यबाट मात्र अनुसन्धानलाई व्यवहारिक नीति सुधारमा रूपान्तरण गर्न सकिने उनको भनाइ थियो।

    उनले मध्यपश्चिम विश्वविद्यालयको नीति प्रयोगशालालाई दीर्घकालीन अनुसन्धान, नीतिगत संवाद तथा ज्ञान व्यवस्थापनको उत्कृष्ट केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्दै अन्य विश्वविद्यालयलाई अनुभव आदानप्रदान तथा सहकार्यका लागि आमन्त्रणसमेत गरे।

    त्यसैगरी, विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा. यदुप्रसाद ज्ञवाली ले नीति प्रयोगशालाले विश्वविद्यालयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान र दृश्यता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। बदलिँदो विश्वव्यापी अनुसन्धान प्रवृत्तिअनुसार विश्वविद्यालय, अनुसन्धान संस्था तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्दै नीति प्रयोगशालालाई अनुसन्धान तथा विकासको सक्रिय मञ्चका रूपमा अघि बढाइने उनले बताए।

    कार्यक्रममा सहभागीहरूले विश्वविद्यालयमा आधारित नीति अनुसन्धानलाई सरकारी नीति निर्माण प्रक्रियासँग जोड्ने, प्रमाणमा आधारित निर्णय प्रणालीलाई संस्थागत गर्ने तथा संघीय शासन सुदृढीकरणमा विश्वविद्यालयहरूको भूमिका अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।

    images
    शुक्रवार, श्रावण १ २०८३१०:०७:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार