सोमवार, श्रावण १८ २०८३
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले अन्तिम सङ्क्षिप्त सूची सार्वजनिक गरेको छ। "काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३" बमोजिम स्वीकृत दरखास्तमध्येबाट १० जना उम्मेदवारलाई अन्तिम चरणका लागि छनोट गरिएको हो।
सार्वजनिक गरिएको वर्णानुक्रमअनुसारको सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द संजेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन्।
छनोट समितिका अनुसार अन्तिम सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ। पहिलो चरणमा बिहान ८ बजेदेखि र दोस्रो चरणमा दिउँसो १ बजेदेखि प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने तालिका तय गरिएको छ।
प्रत्येक उम्मेदवारलाई १५ मिनेटको प्रस्तुतीकरणका लागि समय दिइनेछ भने त्यसलगत्तै अन्तर्वार्ता सञ्चालन गरिनेछ। उम्मेदवारहरूलाई तोकिएको समयभन्दा एक घण्टा अगावै सक्कल कागजातसहित उपस्थित हुन समितिले आग्रह गरेको छ।
यसैबीच, अन्तिम सूचीमा परेका उम्मेदवारका सम्बन्धमा आम नागरिकबाट राय तथा सुझावसमेत मागिएको छ। इच्छुक व्यक्तिले समितिले उपलब्ध गराएको गुगल लिंकमार्फत साउन २० गतेभित्र आफ्नो सुझाव पठाउन सक्ने व्यवस्था गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
उपकुलपति नियुक्ति प्रक्रियाको यो अन्तिम चरणपछि छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारको नाम विश्वविद्यालयका कुलपतिसमक्ष सिफारिस गर्नेछ।
