सोमवार, श्रावण २५ २०८३
काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू)को नयाँ उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गर्दै कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पठाएको हो।
छनोट समितिले प्रा.डा. बालचन्द्र लुईटेल, प्रा.डा. विवेक बराल र प्रा.डा. विकास नकर्मीको नाम उपकुलपतिका लागि सिफारिस गरेको छ। समितिले सोमबार सिफारिस सूची प्रधानमन्त्रीको कार्यालयमा पठाएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।
अब कुलपति समेत रहेका प्रधानमन्त्री शाहले सिफारिस भएका तीन जनामध्ये एक जनालाई काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्नेछन्। मन्त्रालय स्रोतका अनुसार नियुक्ति प्रक्रिया केही दिनभित्रै टुंग्याउने तयारी छ।
सिफारिसमा परेका लुईटेल र बराल काठमाडौँ विश्वविद्यालयमै कार्यरत छन् भने नकर्मी चीनको एक विश्वविद्यालयमा प्राध्यापनरत छन्। सरकारले गत वैशाखमा अध्यादेशमार्फत तत्कालीन उपकुलपति अच्युत वाग्लेलाई पदबाट हटाएपछि केयूको उपकुलपति पद रिक्त रहेको थियो। त्यसपछि गत जेठ १९ गते बसेको विश्वविद्यालय सभाले नयाँ उपकुलपति छनोटका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो। समितिमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य रहेका छन्।
३५ जनाले दिएका थिए आवेदन
केयूको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले असार ३ गते दरखास्त आह्वान गरेको थियो। उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका थिए।
आवेदन दिएका उम्मेदवारमध्ये समितिले १० जनाको अल्पसूची सार्वजनिक गरेको थियो। अल्पसूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका थिए।
तीमध्ये तीन जनाको नाम सिफारिस भएसँगै अब प्रधानमन्त्रीबाट एक जनालाई उपकुलपति नियुक्त गर्न बाँकी रहेको छ। नियुक्तिसँगै केही समयदेखि नेतृत्वविहीन रहेको काठमाडौँ विश्वविद्यालयले नयाँ उपकुलपति पाउनेछ।