शुक्रवार, भाद्र १२ २०८३
काठमाडौं । नेपाल पौडी संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) को संयुक्त सहकार्यमा आयोजना हुने दोस्रो अन्तरविद्यालय उमेर समूह प्याब्सन कप पौडी प्रतियोगिता–२०८३ भदौ १३ गतेदेखि सञ्चालन हुने भएको छ।
विद्यालय तहदेखि नै पौडी खेलको विकास गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा विद्यार्थीमा पौडी खेलप्रति आकर्षण र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगिता भदौ १३ र १४ गते (अगस्ट २९–३०, २०२६) ललितपुरको सातदोबाटोमा सञ्चालन हुनेछ। यस वर्ष देशभरका ७५ विद्यालयका ३०३ जना खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन्। सहभागी खेलाडीमध्ये १५८ जना छात्र र १४५ जना छात्रा रहेका छन्। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न उमेर समूह र पौडी विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताले विद्यालय तहमा रहेका प्रतिभाशाली पौडी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादनमा योगदान पुर्याउने आयोजकको विश्वास छ।
नेपाल पौडी संघ र PABSON बीचको सहकार्यले विद्यालय र खेल क्षेत्रबीचको सम्बन्ध थप मजबुत बनाउँदै विद्यार्थीको शारीरिक स्वास्थ्य, अनुशासन, आत्मविश्वास तथा खेलकुद संस्कार विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमा पौडी खेलको विकास र प्रवर्द्धनका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता दुवै संस्थाले व्यक्त गरेका छन्।
प्रतियोगितालाई सफल बनाउन सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, अभिभावक तथा व्यवस्थापनमा संलग्न सबैलाई आयोजकले धन्यवाद दिँदै सञ्चारमाध्यम, खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालाबाट आवश्यक सहयोग र सकारात्मक प्रचार–प्रसारका लागि आग्रह गरेको छ।
