शनिवार, भाद्र १३ २०८३
चितवन । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीले एक महिनासम्मको तलब सहयोग गर्ने भएका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, सबै डीन तथा परीक्षा नियन्त्रकले एक महिनाको तलब बराबरको रकम सहयोग गर्नेछन्। त्यस्तै सबै निर्देशक तथा सहायक डीनले आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने विश्वविद्यालयले जनाएको छ।
प्राध्यापक, प्रशासक, सह–प्राध्यापक, सह–प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिनेछ। उप–प्राध्यापक, उप–प्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका कर्मचारीबाट सात दिन बराबरको रकम कट्टा गरिनेछ।
त्यसैगरी मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी उद्धार कोषमा जम्मा गरिनेछ।
विश्वविद्यालयका अनुसार भदौ महिनाको तलब भुक्तानी गर्दा उक्त रकम कट्टा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खातामा जम्मा गरिनेछ।
विश्वविद्यालयले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना कार्यमा स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीप्रति धन्यवादसमेत व्यक्त गरेको छ।
