आइतवार, भाद्र २१ २०८३
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण बन्द रहेका विदुर नगरपालिका अन्तर्गतका विद्यालयहरू भदौ २४ गतेदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन्।
विदुर नगरपालिकाको नगर कार्यपालिकाको भदौ २१ गते बसेको बैठकले बाढीका कारण बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो।
नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) का रूपमा प्रयोग भइरहेका र पूर्ण रूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलद्वारा जारी सूचनामा बाढीका कारण विद्यालय बन्द हुँदा प्रभावित भएको पठनपाठनलाई पुनः नियमित बनाउन विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्यालय तथा शैक्षिक संरचनामा समेत क्षति पुगेको थियो। क्षतिको अवस्था र विद्यालयको प्रयोगको अवस्थाअनुसार भने केही विद्यालय तत्काल सञ्चालनमा आउन नसक्ने नगरपालिकाले जनाएको छ।
