Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता भदौ २४ देखि

प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता भदौ २४ देखि

  • 771
    SHARES

  • प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता भदौ २४ देखि

    काठमाडौं । प्रोग्रेसिभ एजुकेसन फोरम (PEF) को आयोजनामा प्याब्सन कप यू–१६ ब्वाइज फुटसल टुर्नामेन्ट–२०८३ भदौ २४ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता भदौ २४ देखि २७ गतेसम्म कोटेश्वरस्थित काञ्जिरोवा नेसनल स्कुल फुटसल ग्राउन्डमा सञ्चालन हुने भएको हो।

    20260907_153250~2.jpg

    प्रतियोगितामा काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहका ४८ निजी तथा संस्थागत विद्यालयका यू–१६ विद्यार्थी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

    फूटसल प्रतियोगिताको टाइसिट सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष नवराज भट्टले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद प्रतिभालाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले विद्यालयस्तरका प्रतियोगिताले भविष्यका खेलाडी उत्पादनको आधार तयार गर्ने बताए।

    20260907_153220~2.jpg

    सो अवसरमा बोल्दै अध्यक्ष भट्टले देश विपत्तिमा परेको समयमा निजी तथा संस्थागत विद्यालयहरू सामाजिक उत्तरदायित्वबाट पछि हट्न नहुने बताए। देश संकटमा पर्दा सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उनले प्याब्सनले शिक्षा, खेलकुदसँगै सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए।

    प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगनसिंह ऐरले विद्यालय तहमा हुने खेलकुद गतिविधिले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र टीम भावना विकास गर्ने बताए। खेलकुदलाई विद्यार्थीको समग्र विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

    20260907_153840~2.jpg

    जिल्ला उपाध्यक्ष सूर्यबहादुर भण्डारीले फुटसलले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने बताए। यस्ता प्रतियोगिताबाट विद्यालयमा खेलकुदको वातावरण थप मजबुत बन्ने उनले उल्लेख गरे।

    कार्यक्रम सञ्चालन गर्दै प्याब्सन काठमाडौंका सचिव आर.सी. भट्टले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार बुढानीलकण्ठबाट ६, चन्द्रागिरिबाट ४, गोकर्णेश्वरबाट ६, कागेश्वरी मनोहराबाट ३, काठमाडौं महानगरपालिकाबाट १७, कीर्तिपुरबाट २, नागार्जुनबाट ३, शंखरापुरबाट १, तारकेश्वरबाट ४ र टोखाबाट ३ विद्यालय सहभागी हुनेछन्।

    पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौं महानगरकाका उपाध्यक्ष राजन आचार्य, मिडभ्याली प्याब्सनका अध्यक्ष धन सुब्बा, इसिए विभाग सदस्य नितेस राई तथा महानगर इसिए विभाग प्रमुख राजकुमार बोगटी लगायतको उपस्थिति थियो।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत ट्रफी तथा मेडलबाट सम्मान गरिने आयोजकले जनाएको छ।

    प्रतियोगितामा फिफा रेफ्री माधव खत्री लगायतको टोलीले रेफ्रीको भूमिका निर्वाह गर्नेछ। सहभागी विद्यालयले सहभागिता शुल्कबापत ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ।

    आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु र भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि आधार तयार गर्नु हो।

    images
    सोमवार, भाद्र २२ २०८३०७:२१:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार