मंगलवार, भाद्र २३ २०८३
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) को मिति तय गरेको छ।
आयोगको परीक्षा निर्देशनालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रवेश परीक्षा २०८३ कार्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको छ।
निर्धारित तालिकाअनुसार कार्तिक १४ गते MBBS र १५ गते BDS को परीक्षा हुनेछ। त्यस्तै, कार्तिक १६ गते BSc Nursing/BSc Midwifery, BASLP र B Perfusion Technology, कार्तिक १७ गते BAMS, BNS/BMS र BSc MLT तथा कार्तिक १८ गते BSc MIT/BSc Radiotherapy Technology, BPT, B Pharm, B Optometry र BPH को परीक्षा सञ्चालन हुनेछ।
आयोगका अनुसार परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र रहनेछ। परीक्षा केन्द्रसम्बन्धी विवरण परीक्षार्थीको प्रवेशपत्रमा उल्लेख गरिनेछ।
आयोगले यसअघि २०८३ साउन २१ गते प्रकाशित सूचनामा उल्लेख गरिएका अन्य व्यवस्था तथा विवरणसमेत लागू हुने जनाएको छ।
