बिहिवार, आश्विन १ २०८३
काठमाडौँ, १ असोज । भोटेकोशी बाढीका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह दोस्रो वर्षका परीक्षा पुनः सञ्चालन हुने भएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयअनुसार ४ वर्षे बीए, बीएड, बीबीएस र बीएस्सी दोस्रो वर्ष आंशिक २०८२ का स्थगित परीक्षा असोज ६ गतेदेखि पूर्वनिर्धारित परीक्षा केन्द्रमै सञ्चालन हुने भएका हुन्।
प्राकृतिक विपत्तिका कारण भदौ १५ गतेदेखि सञ्चालन हुने पूर्वनिर्धारित परीक्षामध्ये नुवाकोट, धादिङ र रसुवाका तीन परीक्षा केन्द्रमा हुने परीक्षा स्थगित गरिएको थियो।
स्थगित परीक्षा श्री नुवाकोट आदर्श बहुमुखी क्याम्पस, नुवाकोट, श्री नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङ र श्री कालिका हिमालय क्याम्पस, कालिकास्थान, रसुवामा सञ्चालन हुने त्रिविले जनाएको छ।
भोटेकोशी बाढीका कारण सम्बन्धित क्षेत्रमा यातायात तथा भौतिक संरचनामा परेको असरलाई ध्यानमा राख्दै यसअघि ती केन्द्रका परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।
अब भने केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयअनुसार असोज ६ गतेदेखि पूर्वनिर्धारित परीक्षा केन्द्रमा नै परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित परीक्षार्थीलाई सोहीअनुसार परीक्षामा सहभागी हुन त्रिविले जानकारी गराएको छ।