शनिवार, आश्विन १० २०८३
सुनसरी । धरानमा शिक्षकको माग गर्दै अनशन बसेका एक विद्यार्थीले कीटनाशक औषधि सेवन गरेका छन्। शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको भन्दै धरान उपमहानगरपालिकाको कार्यालयमा अनशन बसेका धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीमध्ये रोजन शंकरले शुक्रबार साँझ कीटनाशक औषधि सेवन गरेका हुन्।
उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको कार्यकक्षबाहिर अनशन बसिरहेका बेला शंकरले औषधि सेवन गरेपछि उनलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार विद्यार्थीको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ।
शिक्षक अभावका कारण पठनपाठन रोकिएको भन्दै विद्यार्थीहरू बिहीबारदेखि उपमहानगरपालिका कार्यालयमा आन्दोलनमा उत्रिएका थिए। धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक पद आठ महिनादेखि रिक्त छ भने धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नेपाली र सामाजिक विषयका शिक्षक करिब दुई वर्षदेखि छैनन्।
लामो समयदेखि रिक्त शिक्षक पदपूर्ति नभएपछि विद्यार्थीहरू आफैं आन्दोलनमा उत्रिएका हुन्। शिक्षक अभावले नियमित कक्षा सञ्चालन प्रभावित भएको भन्दै उनीहरूले तत्काल शिक्षक व्यवस्थापन गर्न उपमहानगरपालिकासँग माग गर्दै आएका छन्।
विद्यार्थी आन्दोलनमा उत्रिएपछि शुक्रबार कार्यवाहक प्रमुख बेघा कार्यालयमा उपस्थित नभएको र शिक्षक पदपूर्तिमा चासो नदिएको भन्दै उपमहानगरपालिकाको आलोचना भइरहेको छ।