Oct 02 2026 | २०८३, आश्विन १६ गते

९० वर्षको उमेरमा ‘पुर्खाको पाइला’ : पाँच दशक शिक्षा सेवामा बिताएका जयबल्लभ भट्टको जीवन अक्षरमा

९० वर्षको उमेरमा ‘पुर्खाको पाइला’ : पाँच दशक शिक्षा सेवामा बिताएका जयबल्लभ भट्टको जीवन अक्षरमा

  • 481
    SHARES

  • ९० वर्षको उमेरमा ‘पुर्खाको पाइला’ : पाँच दशक शिक्षा सेवामा बिताएका जयबल्लभ भट्टको जीवन अक्षरमा

    काठमाडौँ । पाँच दशकभन्दा बढी समय शिक्षण सेवामा समर्पित सर्जक तथा शिक्षासेवी जयबल्लभ भट्टको संस्मरणात्मक काव्य ‘पुर्खाको पाइला’ राजधानीमा विशेष समारोहबीच सार्वजनिक गरिएको छ। ९० वर्षको उमेरमा भट्टले आफ्नो जीवनका संघर्ष, भोगाइ, संस्कार, स्मृति र सामाजिक यात्रालाई काव्यका रूपमा अभिव्यक्त गरेका हुन्।

    1790417346383~2.jpg

    शिक्षा, कला र साहित्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा आयोजित विमोचन समारोहको अध्यक्षता सर्जककी बुहारी कुमारी अम्बिका भट्टले गरेकी थिइन्। कार्यक्रममा कृतिका संरक्षक एवं कविका सुपुत्र तथा प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्टले ‘पुर्खाको पाइला’ आफ्ना बुबाको साहित्यिक सिर्जना मात्रै नभई परिवारका लागि जीवन, संस्कार, आदर्श र अनुशासनको दस्तावेजसमेत भएको बताए।

    कृतिमाथि समीक्षकीय टिप्पणी गर्दै वरिष्ठ साहित्यकार डा. देवी नेपालले ‘पुर्खाको पाइला’मा भट्टको लामो जीवनयात्राका विविध उकाली–ओराली, संघर्ष, भोगाइ र आत्मीय अनुभूतिहरूको जीवन्त अभिव्यक्ति रहेको बताए। उनका अनुसार कृतिले एउटा व्यक्तिको निजी जीवनलाई मात्र नभई एउटा पुस्ताले भोगेको सामाजिक परिवेश र जीवनशैलीलाई समेत सम्झाउने काम गरेको छ।

    IMG-20260926-WA0040.jpg

    समारोहका प्रमुख अतिथि एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कला र साहित्यको साधनाका लागि उमेर बाधक नहुने बताए। ९० वर्षको उमेरमा पनि भट्टले देखाएको साहित्यिक सक्रियता, सिर्जनशीलता र तन्नेरी जाँगर नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उनको भनाइ थियो। भट्टको जीवन स्वयं संघर्ष, शिक्षा र कर्मको लामो यात्रा हो।

    IMG-20260926-WA0055.jpg

    वि.सं. १९९५ मङ्सिर १४ गते बैतडीको पाटन नगरपालिका–७, दानखोला किमतोलीमा जन्मिएका उनले बाल्यकालमै आमाको साथ गुमाएका थिए। आफू केवल छ महिनाको हुँदा आमाको निधन भएपछि भागीरथी भट्ट आमाको संरक्षणमा हुर्किएका उनले अभाव र कठिन परिस्थितिबीच आफ्नो बाल्यकाल बिताए।

    IMG-20260916-WA0002.jpg

    गाउँको गुरु आश्रमबाट अध्ययन सुरु गरेका भट्टले २००७ सालपछि गाउँमा विद्यालय स्थापना भएपछि औपचारिक शिक्षा अघि बढाए। उनले कक्षा १० सम्मको अध्ययन पूरा गरे। संस्कृतप्रति विशेष रुचि राख्ने उनी ज्योतिष, आयुर्वेद तथा गाउँघरमा प्रचलित परम्परागत ज्ञानमा समेत दख्खल राख्थे।

    IMG-20260926-WA0054~2.jpg

    उनको जीवनको ठूलो हिस्सा भने शिक्षण सेवामा बित्यो। भुल्कुणाको विद्यालयमा पाँच वर्ष, उल्लको विद्यालयमा पाँच वर्ष र ढुङको विद्यालयमा पाँच वर्ष अध्यापन गरेका भट्टले लामो समय उदयदेव माध्यमिक विद्यालय, किमतोलीमा शिक्षण सेवा गरे। अन्ततः त्यही विद्यालयबाट निवृत्तिभरण भएका उनी करिब पाँच दशकसम्म विद्यार्थी र विद्यालयसँग जोडिएर रहे।

    शिक्षकको भूमिकामा मात्र सीमित नभई भट्ट गाउँसमुदायका लागि ज्ञान र संस्कारका भरोसायोग्य व्यक्ति थिए। गाउँमा बालबालिकाको जन्म, न्वारन तथा नामकरणजस्ता संस्कारमा ज्योतिषीय ज्ञानका आधारमा सहयोग गर्ने उनी स्थानीय संस्कृति र परम्परासँग पनि उत्तिकै जोडिएका थिए। गौरा, होलीलगायत स्थानीय पर्वमा गीत गाउने तथा गीत रचना गर्ने भट्टको साहित्यिक र सांस्कृतिक यात्रा पनि लामो छ। शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई शिक्षा पुरस्कारबाट समेत सम्मान गरिएको थियो।

    Screenshot_20260926_205858_Lite~2.jpg

    शिक्षणसँगै उनी कर्मशील किसानका रूपमा पनि परिचित थिए। विद्यालयको समयबाहेक कृषि कर्ममा सक्रिय रहने उनले अभाव र संघर्षका बीच परिवारको जिम्मेवारी पूरा गर्दै जग्गाजमिनसमेत जोडे। शिक्षा, श्रम र पारिवारिक दायित्वलाई सँगसँगै अघि बढाएका भट्टको जीवन ग्रामीण समाजको एउटा कर्मशील पुस्ताको प्रतिनिधि कथा बनेको छ।

    विमोचन समारोहमा आफ्नो भनाइ राख्दै सर्जक भट्टले ‘पुर्खाको पाइला’लाई कुनै व्यावसायिक वा शास्त्रीय उद्देश्यले लेखिएको कृति नभएको बताए। आफ्ना जीवनका भोगाइ, मधुर संस्मरण र अतीतका पाइलालाई बुढेसकालमा अक्षरको मालामा उनेर भावी पुस्ताका लागि छाडेको एउटा सादा स्मृति–प्रयासका रूपमा उनले कृतिलाई व्याख्या गरे।

    IMG-20260926-WA0048.jpg

    ‘पुर्खाको पाइला’ यस अर्थमा एउटा ज्येष्ठ सर्जकको साहित्यिक कृति मात्र होइन, पाँच दशकभन्दा बढी शिक्षण सेवामा बिताएको जीवन, अभावसँगको संघर्ष, गाउँको ज्ञान–संस्कार, कृषि कर्म र सामाजिक यात्राको दस्तावेजका रूपमा समेत प्रस्तुत भएको छ।

    छ महिनामै आमाको काख गुमाएका बालकदेखि पाँच दशकसम्म कक्षाकोठामा ज्ञान बाँड्ने शिक्षक र ९० वर्षको उमेरमा आफ्ना जीवनका पदचापलाई पुस्तकमा उतार्ने सर्जकसम्मको भट्टको यात्रा ‘पुर्खाको पाइला’मार्फत नयाँ पुस्तासामु पुगेको छ।

    20260926_145915~2.jpgIMG-20260926-WA0049.jpgIMG-20260926-WA0046~2.jpg

    images
    शनिवार, आश्विन १० २०८३०८:३९:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार