Oct 11 2026 | २०८३, आश्विन २५ गते

प्रधानाध्यापकमाथि कुटपिटको प्रधानाध्यापक संघद्वारा भर्त्सना, दोषीलाई कारबाही गर्न माग

प्रधानाध्यापकमाथि कुटपिटको प्रधानाध्यापक संघद्वारा भर्त्सना, दोषीलाई कारबाही गर्न माग

  • 137
    SHARES

  • प्रधानाध्यापकमाथि कुटपिटको प्रधानाध्यापक संघद्वारा भर्त्सना, दोषीलाई कारबाही गर्न माग

    काठमाडौं। प्रधानाध्यापक संघ नेपालले काठमाडौंको बूढानीलकण्ठस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि विद्यालय परिसरभित्रै भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ।

    संघका अध्यक्ष सुदाम गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्र निर्माणको जग बसाल्ने, भावी पुस्ताको भविष्य निर्माण गर्ने र समाजलाई सभ्यताको मार्ग देखाउने शिक्षक तथा प्रधानाध्यापक समाजका आदरणीय धरोहर भएको उल्लेख गरिएको छ। सीमित स्रोतसाधनका बाबजुद बालबालिकाको उज्ज्वल भविष्यका लागि समर्पित शिक्षक तथा प्रधानाध्यापकहरूको पेसागत निष्ठा, धैर्य र योगदान प्रशंसनीय रहेको संघले जनाएको छ।

    बूढानीलकण्ठ नगरपालिका–१० स्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक पण्डितमाथि कर्तव्यपालनाका क्रममा विद्यालय परिसरभित्रै भएको कुटपिट तथा दुर्व्यवहारले शिक्षक र प्रधानाध्यापकको मनोबल कमजोर बनाउनुका साथै पेसागत सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको संघको ठहर छ।

    ‘ज्ञानको मन्दिरमा समाजका पथप्रदर्शक गुरुमाथि यसरी कार्यथलोमै भएको सांघातिक प्रहारले देशैभरिका शिक्षक तथा प्रधानाध्यापकहरूको मनोबल गिराउनुका साथै पेसागत सुरक्षामा गम्भीर आँच पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    संघले घटनामा संलग्न दोषीहरूलाई प्रचलित कानुनबमोजिम तत्काल कडा कारबाही गर्न तथा राष्ट्रका कर्णधार निर्माणमा समर्पित शिक्षक र प्रधानाध्यापकहरूको पेसागत मर्यादा एवं सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

    साथै, संघले घाइते प्रधानाध्यापक पण्डितप्रति ऐक्यबद्धता प्रकट गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

    FB_IMG_1791703877888.jpg

    images
    आइतवार, आश्विन २५ २०८३०१:२०:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार