मंगलवार, आश्विन २७ २०८३
काठमाडौँ, २७ असोज। काठमाडौँ महानगरपालिकाले विद्यालय तहमा सञ्चालन हुँदै आएको ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र जीवनोपयोगी बनाउन नयाँ मार्गदर्शन स्वीकृत गरेको छ।
महानगरपालिकाको नगर शिक्षा समितिको सोमबार बसेको बैठकले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन २०८३’ स्वीकृत गरेको हो। कार्यवाहक प्रमुख एवं समितिका अध्यक्ष सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा शिक्षा समितिबाट सिफारिस भएर आएको मार्गदर्शनलाई स्वीकृति दिएको हो।
विद्यार्थीको रुचि, सिर्जनात्मक प्रतिभा र जीवनोपयोगी सिप विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नु, कक्षागत आवश्यकताअनुसार गतिविधि निर्धारण गर्नु तथा सिकाइको नियमित अनुगमन र मूल्याङ्कन गर्नु मार्गदर्शनको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ।
मार्गदर्शन कार्यान्वयनका विषयमा धारणा राख्दै अध्यक्ष डंगोलले विद्यालयहरूबीच साझेदारी गरेर खेल मैदान, स्रोतसाधन र जनशक्ति अभावको समस्या समाधान गर्न सकिने बताइन्। खेल मैदान नभएका विद्यालयका विद्यार्थीलाई नजिकैको खेल मैदान भएको विद्यालयमा लगेर प्रशिक्षण दिन सकिने उनको भनाइ थियो।
“खेल मैदान नभएका विद्यालयका विद्यार्थीलाई खेल मैदान भएको नजिकको विद्यालयमा लैजाऔँ। त्यहाँका विद्यार्थीलाई पनि प्रशिक्षण गराऔँ। यो एउटा उत्कृष्ट मोडल बन्न सक्छ,” उनले भनिन्।
डंगोलले कार्यक्रम सुरु गर्दाको उत्साह, लक्ष्य र प्राथमिकता अहिले कुन अवस्थामा छन् भन्ने विषयमा स्वतन्त्र अध्ययनमार्फत मूल्याङ्कन गर्नुपर्नेमा पनि जोड दिइन्। कार्यक्रममार्फत विद्यार्थीले हासिल गरेको ज्ञान, सिप र दक्षता व्यवहारमा कति उपयोगी भएको छ भन्ने विषयमा समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले पनि पुस्तकरहित शुक्रबार कार्यक्रमलाई सन्तुलित सिकाइमा केन्द्रित गर्नुपर्ने बताए। “सन्तुलित सिकाइ आजको आवश्यकता हो। कार्यक्रम तर्जुमा गर्दा यसमा ध्यान दिनुपर्नेछ,” उनले भने।
महानगरपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उमेर, रुचि र आवश्यकताका आधारमा विभिन्न गतिविधिमा सहभागी गराउँदै आएको छ। शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि ‘रमाइलो शुक्रबार’, कक्षा ४ देखि ८ सम्मका लागि ‘सिर्जनात्मक सिकाइ’ र कक्षा ९ का विद्यार्थीका लागि ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई खेलकुदमा सहभागी गराउने र ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई व्यवस्थित गर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।
‘सिर्जनात्मक सिकाइ’ अन्तर्गत अबाकस, विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित STEAM, कोडिङ तथा कृत्रिम बौद्धिकता (AI), योग तथा ध्यान, गायन, वाद्यवादन, नृत्य, भित्तेचित्र र हस्तकलालगायत विषय समावेश गरिएका छन्। विद्यार्थीको रुचि र क्षमताका आधारमा उपसमूह गठन गरी उनीहरूको प्रतिभा पहिचान गर्ने र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार कक्षा ९ का विद्यार्थीलाई व्यावसायिक तथा रोजगारमूलक सिप सिकाउन ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत ब्युटिसियन तथा हेयर स्टाइल, पाककला, हाउस वायरिङ तथा इलेक्ट्रिकल र स्केचिङ तथा स्कल्प्चर विधा समावेश छन्। प्रत्यक्ष अभ्यासमार्फत विद्यार्थीलाई आधारभूत श्रम, व्यावहारिक दक्षता र उद्यमशीलतासँग परिचित गराउने महानगरको उद्देश्य छ।
खेलकुदतर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते गरी पाँच विधाका साथै क्रिकेट र फुटबलमा प्रशिक्षण तथा प्रतिस्पर्धा गराइनेछ। आफ्नै विद्यालयमा खेल मैदान नभएका विद्यालयले नजिकका खुला स्थानमा निःशुल्क खेल गतिविधि सञ्चालन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
‘सुन्दर विद्यालय’ कार्यक्रमअन्तर्गत विद्यार्थीको सहभागितामा शौचालय तथा कक्षाकोठाको सरसफाइ, फोहरमैला व्यवस्थापन, विद्यालय परिसरको सजावट, वृक्षरोपण, हरियाली प्रवर्द्धन र वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ। यसका लागि विद्यालयहरूले हरेक शुक्रबार अनिवार्य रूपमा ३० मिनेट समय छुट्याउनुपर्नेछ।
यसैबीच, नगर शिक्षा समितिको बैठकले महेन्द्र भवन आवासीय माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘महेन्द्र भवन महानगर विद्यालय’ कायम गर्ने निर्णयसमेत गरेको छ। गत साउन ६ गते महेन्द्र भवन शैक्षिक गुठी र काठमाडौँ महानगरपालिकाबीच विद्यालयलाई आधुनिक तथा नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने र गुरुयोजना तयार गरी विशेष विद्यालय सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो।
नयाँ मार्गदर्शनले पुस्तकरहित शुक्रबारलाई नियमित पाठ्यपुस्तकमा आधारित सिकाइभन्दा फरक ढङ्गले विद्यार्थीको प्रतिभा पहिचान, व्यावहारिक क्षमता, सामाजिक व्यवहार र जीवनोपयोगी सिप विकास गर्ने अवसरका रूपमा व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।