आइतवार, कार्तिक १६ २०८३
चितवन । नेपाल राहत शिक्षक केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा बसिरहेको छ। समितिका केन्द्रीय अध्यक्ष वीरेन्द्र मल्लको अध्यक्षतामा बैठक सञ्चालन भइरहेको हो।
शिक्षा ऐन जारी गर्ने प्रक्रिया अघि बढिरहेको संवेदनशील समयमा बसिरहेको यस बैठकलाई राहत शिक्षकहरूको पेशागत भविष्य र सेवा सुरक्षाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

देशभर कार्यरत करिब ४० हजार राहत शिक्षकको पेशागत स्थायित्व, सेवा सुरक्षा तथा अधिकार सुनिश्चित गर्ने विषयमा बैठकले महत्त्वपूर्ण निर्णय गर्ने आयोजकले जनाएको छ।
लामो समयदेखि अस्थायी प्रकृतिको सेवामा रहेर सार्वजनिक शिक्षा प्रणालीमा योगदान पुर्याउँदै आएका राहत शिक्षकहरूले आफ्नो भविष्य नीतिगत रूपमै सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन्।
विशेषगरी आसन्न शिक्षा ऐनमा राहत शिक्षकको पेशागत स्थायित्व सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ उठाउने, सरकारसँगको पैरवी तथा आगामी आन्दोलनका कार्यक्रम र संगठनात्मक रणनीतिबारे बैठकले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।
करिब ४० हजार राहत शिक्षकको भविष्यसँग जोडिएको यस बैठकका निर्णयलाई शिक्षा क्षेत्र र राहत शिक्षक वृत्तमा चासोका साथ हेरिएको छ।