Nov 19 2026 | २०८३, मंसिर ४ गते

२१ प्रतिशत तलब वृद्धि र ५ हजार महँगी भत्ता माग गर्दै शिक्षक युनियनद्वारा ज्ञापनपत्र पेश

२१ प्रतिशत तलब वृद्धि र ५ हजार महँगी भत्ता माग गर्दै शिक्षक युनियनद्वारा ज्ञापनपत्र पेश

  • 174
    SHARES

  • २१ प्रतिशत तलब वृद्धि र ५ हजार महँगी भत्ता माग गर्दै शिक्षक युनियनद्वारा ज्ञापनपत्र पेश

    चितवन । संस्थागत विद्यालय शिक्षक युनियन, जिल्ला कार्यसमिति चितवनले शिक्षक तथा कर्मचारीको तलब २१ प्रतिशत वृद्धि गर्नुपर्ने मागसहित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनसमक्ष ज्ञापनपत्र पेश गरेको छ।

    युनियनले २०८३ कात्तिक १७ गते जारी गरेको ज्ञापनपत्रमार्फत शिक्षक तथा कर्मचारीलाई सरकारी सेवासरह २१ प्रतिशत तलब वृद्धि र मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउन माग गरेको हो।

    युनियनले आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि लागू भएको तलब वृद्धि सोही महिनादेखि नै उपलब्ध गराउनुपर्ने र तिहारअघि भुक्तानी गर्ने लिखित सम्झौता गर्नुपर्ने मागसमेत गरेको छ।

    त्यस्तै, सामाजिक सुरक्षा कोषमा आबद्धता, कानुनप्रदत्त बिदा तथा अन्य सेवा-सुविधाको कार्यान्वयन, प्रत्येक शिक्षक तथा कर्मचारीलाई अनिवार्य नियुक्तिपत्र र श्रम ऐनअनुसार सेवा-सुविधाको सुनिश्चितता गर्न माग गरिएको छ।

    आइतबार सञ्चालन हुने अतिरिक्त कक्षामा काम गर्ने शिक्षक तथा कर्मचारीलाई अतिरिक्त पारिश्रमिक दिनुपर्ने तथा सार्वजनिक बिदा, चाडपर्व र अन्य बिदाका दिन काममा लगाए अतिरिक्त भत्ता वा नियमानुसार सट्टा बिदाको व्यवस्था गर्नुपर्ने युनियनको माग छ।

    युनियनले आफ्ना माग सम्बोधनका लागि २४ घण्टाको समयसीमा तोकेको छ। उक्त अवधिभित्र माग सम्बोधन नभए शिक्षक तथा कर्मचारीले कालोपट्टी बाँधेर पठनपाठन सञ्चालन गर्ने र विद्यालय परिसरमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने चेतावनी दिएको छ।

    त्यसैगरी, २१ प्रतिशत तलब वृद्धि र पाँच हजार रुपैयाँ महँगी भत्ताका विषयमा ४८ घण्टाभित्र लिखित सम्झौता नभए विद्यालय बन्द तथा पठनपाठन स्थगनजस्ता थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। माग पूरा नभएसम्म आवश्यकताअनुसार आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने युनियनको चेतावनी छ।

    ज्ञापनपत्रमा शिक्षक तथा कर्मचारीको उचित पारिश्रमिक र सम्मानजनक सेवा-सुविधा दया वा अनुग्रह नभई श्रम र योगदानको न्यायोचित अधिकार भएको उल्लेख गरिएको छ। शिक्षकको आर्थिक तथा पेशागत अवस्था सुदृढ नभएसम्म शैक्षिक गुणस्तरको अपेक्षा गर्नु न्यायोचित नहुने भन्दै युनियनले प्याब्सनलाई अभिभावकीय भूमिका निर्वाह गरी सम्बन्धित विद्यालय सञ्चालकहरूसँग समन्वय गरेर माग कार्यान्वयन गर्न आग्रह गरेको छ।

    युनियनले शिक्षक तथा कर्मचारीको हक, अधिकार र पेशागत सम्मानका लागि एकजुट भएर शान्तिपूर्ण तथा चरणबद्ध संघर्ष गर्ने जनाएको छ।

    FB_IMG_1793764283866.jpgFB_IMG_1793764285289.jpg

    images
    बुधवार, कार्तिक १९ २०८३१०:१०:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार