बुधवार, कार्तिक १९ २०८३
१८ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्।
डा. केसीले चिकित्सा शिक्षा सुधारका विषयमा उठाएका मागप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले मागहरूको सम्बोधनका लागि वार्ता र संवादलाई नै उपयुक्त माध्यमका रूपमा अघि सारेको छ।
अनसनरत डा. केसीलाई वार्तामा आउन आह्वान गर्दै मन्त्रालयले संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ। वार्ता टोली गठनसँगै डा. केसीका मागबारे सरकार र उनीबीच संवादको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
