शनिवार, कार्तिक २२ २०८३
काठमाडौं। डाइनामिक एजुकेशनल एसोसिएसन नेपाल (डिन) को आयोजनामा प्रथम ‘डिन कप अन्तरविद्यालय भलिबल प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। प्रतियोगितामा लालीगुराँस बाटिका सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ।

२०८३ कात्तिक २० गते काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बाटिका सेकेन्डरी स्कुलमा आयोजित प्रतियोगितामा हिमशिला बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै, समता शिक्षा निकेतन र नवजीवन शिशु निकेतनले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।

प्रतियोगिता सम्पन्न भएपछि आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा विजेता तथा उपविजेता विद्यालयलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो।

डिनका अध्यक्ष अनिल कुमार सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस बाटिका स्कुलका अध्यक्ष इन्जिनियर रामेश्वर प्रसाद कलवर, स्कुलका निर्देशक सुदर्शन पराजुली, काठमाडौं मेट्रोका खेलकुद विभाग संयोजक राजकुमार बोकटी, डिन कार्यसमितिका कोषाध्यक्ष कमल प्रसाद पाण्डे, सदस्य तथा परीक्षा विभाग प्रमुख हरि शिवाकोटी र खेलकुद विभाग संयोजक सरोज नेपाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष सुब्बाले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने धारणा व्यक्त गरे। उनले विद्यालय तहबाटै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै प्रतियोगितामा सहभागी सबै विद्यालय तथा विजेता टोलीलाई शुभकामना व्यक्त गरे।

‘युनिटी फर एजुकेशनल एक्सिलेन्स’ (शैक्षिक उत्कृष्टताका लागि एकता) भन्ने मूल नारासहित आयोजित प्रतियोगिताले विद्यालयहरूबीच आपसी सम्बन्ध विस्तार, विद्यार्थीको खेल प्रतिभा पहिचान तथा खेलकुद संस्कृतिको विकासमा योगदान पुर्याएको आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालन डिनका सचिव महेश पराजुलीले गरेका थिए।
