Nov 19 2026 | २०८३, मंसिर ४ गते

छठ पर्वको चारै दिन राष्ट्रिय सार्वजनिक बिदा दिन तराई मधेश कानून विद्यार्थी समाजको माग

छठ पर्वको चारै दिन राष्ट्रिय सार्वजनिक बिदा दिन तराई मधेश कानून विद्यार्थी समाजको माग

  • 148
    SHARES

  • छठ पर्वको चारै दिन राष्ट्रिय सार्वजनिक बिदा दिन तराई मधेश कानून विद्यार्थी समाजको माग

    काठमाडौँ, २६ कात्तिक । तराई मधेश कानून विद्यार्थी समाजले छठ पर्वको चारै दिन देशभर राष्ट्रिय सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । समाजले बिहीबार प्रधानमन्त्रीलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै पर्वको मौलिक विधि र पारिवारिक सहभागितालाई मध्यनजर गरी चार दिन बिदा दिन आग्रह गरेको हो ।

    समाजका अध्यक्ष रामकिशोर ठाकुर र सचिव सुजित कुमार पण्डितद्वारा हस्ताक्षरित उक्त पत्रमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक विधि चार दिनको अविच्छिन्न प्रक्रियामा आधारित रहेको उल्लेख छ । नहाय खाय, खरना, सन्ध्या अर्घ्य र बिहानी अर्घ्य चारै दिन एकअर्काका पूरक भएकाले कुनै एक दिनलाई मात्र महत्त्व दिएर बाँकी दिनलाई छुटाउँदा पर्वको पूर्णता प्रभावित हुने समाजको ठहर छ ।

    ज्ञापनपत्रमा रोजगारी, अध्ययन तथा व्यवसायका कारण देशका विभिन्न स्थानमा रहेका नागरिकहरू घर फर्कने भएकाले सीमित अवधिको बिदाले पर्याप्त सहजता प्रदान नगर्ने जनाइएको छ । साथै, नेपालको संविधानको धारा १८ (समानताको हक), धारा २६ (धार्मिक स्वतन्त्रताको हक) र धारा ३२ (भाषा र संस्कृतिको हक) को मर्मअनुसार राज्यका सबै समुदायका सांस्कृतिक परम्परालाई समान व्यवहारका साथ सम्बोधन गरिनुपर्नेमा समाजले जोड दिएको छ ।

    गत वर्षपनि सरोकारवाला निकायले पर्वको अन्तिम दुई दिन बिदा दिन माग गरेको स्मरण गराउँदै समाजले यस वर्ष चारै दिन बिदाको व्यवस्था मिलाउन अनुरोध गरेको छ । यसका साथै उक्त बिदालाई आगामी वर्षहरूको वार्षिक बिदा तालिकामा स्थायी रूपमै समावेश गरी नेपाल राजपत्रमा प्रकाशित गर्न तथा छठ घाटहरूको सरसफाइ, सुरक्षा र यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिन समेत आग्रह गरिएको छ ।

    सो पत्रको बोधार्थ गृह मन्त्रालय, सबै प्रदेशका प्रमुख सचिवहरू र सञ्चार माध्यमहरूलाई समेत पठाइएको छ ।

    FB_IMG_1794535451157.jpg

    images
    शुक्रवार, कार्तिक २८ २०८३०७:५२:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार