सोमवार, मंसिर १ २०८३
भक्तपुर । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले ‘राष्ट्रिय योग्यता परीक्षण सञ्चालन नियमावली, २०८२’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूलाई आग्रह गरेको छ। आयोगले सार्वजनिक सूचना जारी गर्दै उच्च शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको उक्त नियमावली कार्यान्वयन गर्न अनुरोध गरेको हो।
नियमावली विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाअन्तर्गत शिक्षण पेसामा आबद्ध (स्थायी दरबन्दीमा नियुक्त भएका बाहेक) र शिक्षण पेसामा प्रवेश गर्न चाहने जनशक्तिको योग्यता परीक्षण गर्ने प्रयोजनका लागि तयार पारिएको आयोगले जनाएको छ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत उक्त नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि आयोगले यसअघि नै सबै विश्वविद्यालयलाई पत्राचार गरिसकेको छ।
नियमावलीको नियम १७ मा कार्यरत शिक्षकसम्बन्धी व्यवस्था, नियम १८ मा योग्यता परीक्षणलाई नियुक्तिको आधार बनाउने व्यवस्था र नियम २० मा विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाको कर्तव्य उल्लेख गरिएको छ। उक्त व्यवस्थाको कार्यान्वयनका लागि विश्वविद्यालयका ऐन, नियम तथा विनियममा आवश्यक परिमार्जन गर्न आयोगले आग्रह गरेको छ।
यसअघि पठाइएको पत्राचार कुनै कारणवश प्राप्त नभएको भए यही सूचनालाई आधार मानी नियमावली कार्यान्वयन गर्न तथा गराउन आयोगले सम्बन्धित सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थालाई अनुरोध गरेको छ।
नियमावली आयोगको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। थप जानकारीका लागि आयोगको राष्ट्रिय योग्यता परीक्षण शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
