शुक्रवार, आश्विन ८ २०७८
सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिकाभरिका विद्यार्थीहरू पाठ्यपुस्तक विनै पढ्न बाध्य भएका छन् । गाउँपालिकाको सभा नभएका कारण यस गाउँपालिकाका १९ वटा बिद्यालयका पाँच हजार ५६ विद्यार्थी विना पाठ्यपुस्तक नै विद्यालय जान बाध्य भएका हुन् ।
कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका सप्तरीका विद्यालयहरू गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि पाठ्यपुस्तक नहुँदा सप्तरीका पाँच हजारभन्दा धेरै विद्यार्थी अध्ययन गर्नबाट वञ्चित भएका छन् ।
कोरोना महामारीका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आए पनि विना पाठ्यपुस्तक कसरी कक्षा चलाउने भन्दै शिक्षकहरूले अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् ।
यसअघि आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले पाठ्यपुस्तक खरिद गर्नका लागि २४ लाख २० हजार ६ सय ५६ रुपैयाँ विनियोजित गरे पनि समयमै गाउँ सभा नभएका कारण त्यो रकम फिर्ता भएपछि अहिलेसम्म बालबालिका लागि पाठ्यपुस्तक खरिद गर्न नसकेको छिन्नमस्ता गाउँपालिकाको शिक्षा शाखाका राजदेव खंग मण्डलले बताउनुभयो । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय सञ्चालनमा आएपछि अब चाँडै नै पाठ्यपुस्तक खरिद गर्ने उहाँले जानकारी दिनुभयो ।
यसबारे छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँदा तथा गाउँ सभा नभएका कारण बालबालिकालाई पाठ्यपुस्तक खरिद गर्न नसकेको बताउनुभयो । उहाँले सम्भवतः प्रमुख प्रशासकीय अधिकृत आएलगत्तै पाठ्यपुस्तक खरिद गरी वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।