Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा भौतिक उपस्थितिमै परीक्षा

त्रिविमा भौतिक उपस्थितिमै परीक्षा

  • 419
    SHARES

  • त्रिविमा भौतिक उपस्थितिमै परीक्षा

    काठमाडौँ — कोभिड–१९ महामारीले रोकिएका परीक्षा सञ्चालनमा त्रिभुवन विश्वविद्यालयले तीव्रता दिएको छ । केही संस्थान, संकायका विषयका परीक्षा चलिरहेका छन् भने अन्यको मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी छ ।

    विभिन्न स्थानमा अध्यापन अनलाइन गरिए पनि देशभर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएको त्रिवि रजिस्ट्रार पेशल दाहालले बताए । इन्जिनियरिङ र विज्ञान प्रविधि संकायको परीक्षा सञ्चालन भइरहेको छ ।

    व्यवस्थापन र मानविकीलगायत संकायको परीक्षाका लागि तयारी चलिरहेको छ । उनका अनुसार संकाय, संस्थान र विषयअनुसार परीक्षा प्रणाली सरलीकरण गरिएको छ । ‘विद्यार्थीलाई सकेसम्म पायक गर्ने गरी जाँच दिने व्यवस्था मिलाएका छौं । भौतिक उपस्थितिमै परीक्षा लिए पनि स्वास्थ्य मापदण्ड पूरा गराउन प्राथमिकता दिएका छौं,’ उनले भने ।

    व्यवस्थापन संकायले पूर्णांक संकुचन गरेर थोरै सयममै परीक्षा लिने व्यवस्था गरेको छ । स्नातकोत्तर ६० पूर्णांकको दुई घण्टाको मात्रै परीक्षा सञ्चालन गर्न लागिएको डिन कार्यालयले जनाएको छ । प्रश्नपत्र अनलाइनबाट पठाउने र विद्यार्थीले पढेकै क्याम्पसमा परीक्षा (होम सेन्टर) दिन पाउने व्यवस्था मिलाइएको हो ।

    उत्तरपुस्तिकासमेत क्याम्पसमै परीक्षण गरेर अंक पठाइनेछ । विद्यालयले घरपायक जिल्लाको परीक्षा केन्द्र रोजेर समेत परीक्षा दिने व्यवस्था परीक्षा नियन्त्रण कार्यालयले गरेको छ । परीक्षा सञ्चालन र व्यवस्थापनको अधिकार डिन कार्यालयलाई दिइएको शिक्षाध्यक्ष शिवलाल भुसालले बताएका छन् । उनका अनुसार डिन कार्यालयहरूले विद्यार्थी संख्या, क्याम्पसहरूको अवस्थालगायत विषयलाई ध्यान दिएर परीक्षाका सन्दर्भमा फरक/फरक नीति लिएका छन् ।

    ‘चैतदेखि लकडाउनले रोकिएका, पास आउट हुने विद्यार्थीको परीक्षालाई पहिलो प्राथमिकता दिएका छौं,’ उनले भने, ‘डिन कार्यालयले प्रत्यक्ष रूपमा परीक्षा सञ्चालन गर्छ, व्यवस्थापनको काम परीक्षा नियन्त्रण कार्यालयले गर्ने गरेको छ ।’ त्रिविले माघसम्म रोकिएका र नियमित परीक्षा सञ्चालन गरिसक्ने जनाएको छ । लकडाउन र कोरोना महामारीले प्रभावित परीक्षा र पठनपाठनलाई शैक्षिक क्यालेन्डरअनुसार नियमित गर्ने प्रयास गरिएको भुसालले बताए ।

    अनलाइनलगायत वैकल्पिक माध्यमबाट गरिएको पठनपाठनको समेत परीक्षा लिने तयारी छ । ‘पुस अन्तिम वा माघसम्म परीक्षा सकेर सबै शैक्षिक गतिविधि सुचारु गर्ने तयारीमा छौं,’ उनले भने, ‘स्थानीय तहले अनुमति दिए क्याम्पसले फेस टु फेस पठनपाठनसमेत सञ्चालन गर्न सक्छन् ।’ त्रिवि कार्यकारी परिषद्ले स्थानीय तहको समन्वयमा नियमित क्याम्पस सञ्चालन गर्न सक्ने निर्णय गरेको हो । विद्यालय सञ्चालन हुँदा क्याम्पसमा पनि पठनपाठन गर्न सकिने उनले प्रस्ट्याए । श्रोत : कान्तिपुर

    images
    आइतवार, मंसिर १४ २०७७११:१२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार