बुधवार, मंसिर १७ २०७७
१२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी आगामी पुस १५ गतेभित्रै परीक्षाफल प्रकाशित गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए। ‘यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि बाटो खुल्ने छ। यसका लागि देशभरका शिक्षकसँगको समन्वयमा काम भइरहेको छ,’ उनले भने। गएको वैशाखमै सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण रोकिएको थियो। परीक्षा मंगलबार मात्रै सकिएको छ। बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ। कतिपय विषयको उत्तरपुस्तिका परीक्षणसमेत सुरु भइसकेको छ। विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्नेछन्। उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डले जनाएको छ। यस वर्ष कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। यस पटकको परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ। साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने बोर्डले जनाएको छ।