बुधवार, मंसिर १५ २०७८
१५ मंसिर, काठमाडौं । चीनमा MBBS अध्ययन गरि नेपाल आएका विद्यार्थीहरुले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा प्रदर्शन गरेका छन् ।
चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिनु परेको विद्यार्थीहरुले बताएका छन् ।
नेपाल मेडिकल काउन्सिलले २०१५ र १६ औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृति दिएको छैन।
विद्यार्थीहरुको अन्तिम वर्षको सैद्घान्तिक कक्षा केही समय बाँकी रहेको र त्यो अनलाईन कक्षाबाट पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
काउन्सिलले गत १० गते सूचना जारी गर्दै ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाहरुको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाईन अध्ययन अवधिलाई मान्यता दिन नहुने ’ भनेको छ । तर उक्त निर्णयले दोहोरो मारमा परेको विद्यार्थीहरुको भनाइ छ । उनीहरुले सन् २०१५ का विद्यार्थीलाई भाषा र कोर्ष भनी काइते भाषामा परिभाषित गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
नेपाल मेडिकल काउन्सिलले बाँकी रहेको सैद्घान्तिक कक्षा प्रयोगात्मक सहितको कक्षा लिनुपर्ने र त्यसपछि मात्रै इन्टर्नसीप गर्न दिने बताउँदै आएको छ । सम्बन्धित विश्वविद्यालयले अनलाईन कक्षालाई मान्यता दिँदै परीक्षा लिइसकेको अवस्थामा नेपाल मेडिकल काउन्सिलले पनि मान्यता दिनुपर्ने उनीहरुको माग छ ।
फेरि सैद्घान्तिक कक्षा दोहोर्याएर पढ्दा दोहोरो खर्च हुने र अर्को एक वर्ष समय खेर जाने भएकोले थप ६ महिना गरी डेढ वर्ष इन्टर्नशीप गर्न पाउनुपर्ने माग गरेका छन् ।
गत असोज १० गते प्रतिनिधि सभाको संसदीय समितिले २०१५ र १६ ब्याचका विद्यार्थीलाई पनि इन्टर्नसीपको व्यवस्था गर्न निर्देशन दिएको थियो ।