मंगलवार, चैत्र २९ २०७८
चैत, २९ / काठमाडौ - जुम्लामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन खोज्ने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले जिल्लाका चन्दननाथ प्राथमिक विद्यालयमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीउपर मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत कलानन्दका छोरा शेखरमाथी २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट सञ्चालन भएको अंग्रेजी र फिजिक्सको परीक्षामा पास गराउन खोजेको आरोप छ।
उनलाई गैरकानूनीरुपमा नम्बर सच्याइ उत्तीर्ण गरिसकेको प्रभात शाही उल्लेख गरी पुनः अर्को कन्ट्रोल लिस्ट बनाई कसूर गरिएको आयोगको दाबी छ ।
सो उजुरीमाथि अनुसन्धान हुँदा बुवा कलानन्दले आफ्नो छोराको सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा विद्यार्थीको नाम थर पनि फेरेको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धानका अनुसार विज्ञान संकायमा पहिले नै कक्षा ११ र १२ परीक्षा पास गरिसकेका प्रभात शाहीले परीक्षा दिएका थिए।
त्यसैगरी कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्मामाथि कलानन्दसँग मिलेमतो गरेको आरोप छ। उनले कलानन्दसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईवटा कन्ट्रोल लिष्ट बुझी अंग्रेजी र फिजिक्सको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्ने जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानूनी रूपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएको बताइएको छ।