मंगलवार, आश्विन २० २०८३
चितवन । बजेटमा तलब वृद्धि तथा प्रोत्साहन भत्तासहित २१ प्रतिशत वृद्धि घोषणा गरिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिकमै राहतसहितका अस्थायी शिक्षकको प्रोत्साहन भत्ता कटौती गरिएको भन्दै चितवनका राहत शिक्षकले आपत्ति जनाएका छन्।
नेपाल राहत शिक्षक समिति चितवनका अध्यक्ष श्यामप्रसाद काफ्लेको अध्यक्षतामा बसेको बैठकले भत्ता कटौतीविरुद्ध केन्द्रीय समितिलाई आन्दोलनका कार्यक्रम घोषणा गर्न सुझाव दिने निर्णय गरेको छ। केन्द्रीय समितिबाट घोषित हुने आन्दोलनका कार्यक्रमलाई एकताबद्ध भएर सहभागी हुने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले जिल्लाभरिका राहत शिक्षकको सहभागितामा आगामी पुस २६ गते ‘बृहत् अन्तरक्रिया कार्यक्रम–२०८३’ आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा केन्द्रीय तथा राष्ट्रिय नेतृत्वलाई आमन्त्रण गरिने समितिले जनाएको छ।
त्यसअघि मंसिर मसान्तभित्र जिल्लाका सबै पालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने तथा पुस १८ गते जिल्ला बैठकमार्फत कार्यक्रमको सहभागिता शुल्क संकलन र जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरिएको छ। कार्यक्रमलाई प्रभावकारी र सार्वजनिक बनाउन समितिले मिनरल वाटरका बोतलमा समेत आफ्नो ब्रान्डिङ तथा भत्ता कटौतीविरुद्धका सन्देश राखेर वितरण गर्ने तयारी गरेको छ।
भत्ता कटौतीको विरोधसँगै चितवनका राहत शिक्षकले संगठनात्मक एकता बलियो बनाउँदै आफ्ना अधिकारका विषयलाई थप सशक्त रूपमा उठाउने तयारी गरेका छन्।