बुधवार, बैशाख ७ २०७९
बैशाख, ७/ दाङ- तुलसीपुर उपमहानगरपालिका दाङ स्थित एक बिद्यालयको हावाहुरीले छानो उडाउदा विद्यार्थीको बिचल्ली भएको छ। उपमहानगरपालिका-३ प्रतापकोट माविको छानो हावाहुरीले छानो उडाउँदा पठनपाठन ठप्प भइ विद्यार्थीको बिचल्ली भएको हो ।
विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार गत चैत ३० गते रातिको हावाहुरीले तीन वाता कक्षाको जस्तापाताले छाएको छानो उडाउदा पठनपाठन ठप्प भएको बताए। उनले अहिले विद्यार्थी टंटलापुर घाममा बसेर परीक्षा दिन बाध्य भएको बताएका छन।
प्रधानाध्यापकले भने "कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो र त्यो पनि उडाएर लगेपछी अहिले नियमित कक्षा सञ्चालन गर्न समेत समस्या भइरहेको छ”।
विसं २०२८ मा स्थापना भएको उक्त विद्यालय संघिय सरकार शिक्षा मन्त्रालय, स्थानीय निकाय र सरोकारवाला संस्थाले बेवास्था गर्दा जीर्ण भवनको पुनर्निर्माण हुन ढिलो भएको कारण यो अवस्था आएको जनाइएको छ। यद्यपि पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ। यसअघि गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको थियो।
प्रधानाध्यापक राणाका अनुसार ‘छाया नेपालले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ । असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो ।
रु एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत रहेको बताइएको छ ।