मंगलवार, बैशाख २७ २०७९
वैशाख, २७ काठमाडौ। चौतर्फी बिरोध पछि बिद्यालय, बिश्वबिद्धालय लगाएत शिक्षण संस्थामा जेठ १ गतेदेखि हप्तामामा दुई दिन बिदा दिने निर्णय गरे पनि यो व्यवस्था कार्यान्वयन गर्न अन्योलता देखिएको छ ।
सरकारले लागू गर्न थालेको यो व्यवस्था अनुसार सामुदायिक विद्यालय, बिश्वबिद्धालय, सातामा स्वतः दुई दिन बिदा हुनेछन। यद्यपि सरकारले यस्तो निर्णय गरेपनी निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन गर्न असमर्थ हुने जनाएका छन् ।
विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले शिक्षण संस्था सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको जनाएको छ । मन्त्रालय दुई दिन बिदा हुँदा विद्यार्थीको सिकाइमा पर्नसक्ने असरलाई कसरी पूर्ति गर्ने विषयमा पनि छलफल भइरहेको जनाएको छ ।
शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा न्यूनतम २२० दिन विद्यालय खोल्नैपर्छ । पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न विद्यार्थीलाई १८० दिन पढाउनैपर्छ । सातामा दुई दिन बिदा दिँदा पाठ्यक्रमले तोकेअनुसारको पढाइ पूरा गर्न सकिँदैन ।
शिक्षा मन्त्रालय अहिले सातामा दुई दिन बिदा पनि दिने र पाठ्यक्रमले तोकेअनुसारको पाठ्यभार पनि पूरा हुने गरी अध्यापनको खाका तर्जुमा गर्ने छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शुक्रबार पनि पूरै समय पढाउने, वर्षे बिदा कटौती गर्ने तथा त्यसबाहेकका दिनमा पनि पढाइ सञ्चालन गर्नसक्ने विकल्पबारे छलफल भइरहेको छ ।
दुई दिने बिदा कार्यान्वयनका सम्बन्धमा केही दिनअघि शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा सरकारी अधिकारी, सामुदायिक विद्यालयका प्रतिनिधि, निजी क्षेत्र तथा अभिभावकबीच छलफल भएको थियो । त्यसमा पनि निजी विद्यालयहरूले दुई दिन बिदा दिँदा सिकाइमा असर पर्ने सुझाव दिएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका सह अध्यक्ष सुवास न्यौपानेले बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता शर्माले भने वैशाखभित्रै यस विषयमा ठोस निर्णय गरिने बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने रकममा पनि कटौती हुने सरकारी विश्वास छ । दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुलेर बेलुका ५ः३० मा बन्द गर्ने निर्णय सरकारले गरेको छ । गोरखापत्र बाट