बुधवार, बैशाख २८ २०७९
बैशाख, २८- काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले अबदेखि हप्तामा दुई दिन शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय कार्यन्वयन गर्ने भएको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेसँगै शैक्षिक संस्थाको हकमा के गर्ने भन्ने विषयको अन्योलको अन्त्य गर्दै मन्त्रालयले हप्तामा दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयको आजको बैठकले जेठ १ गते देखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने र अरुदिन विदालय १० बजे खुलेर बेलुका ४ बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। यद्यपि मन्त्रालयले हिउँदे र बर्षे स्थानीय विदा लगायत कटौती गरी वर्षभरीमा अधिकतम ३० दिनसम्म विदा दिन सकिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार विद्यालयको हकमा स्थानीय सरकारले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले व्यवस्थापन गर्ने गरी मन्त्रालयले दुई दिन विदा दिने निर्णय गरेको जनाए।
यसअघि सरकारले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण देखाउँदै परीक्षणका लागि हप्तमा दुई दिन विदा दिने निर्णय गरेको थियो। तर शिक्षण संस्था मा लागू गर्ने वा नगर्ने भन्ने अन्यौलता भने कायम नै थियो।
सरकारका अनुसार वर्ष भरी सातामा दुई दिन बिदा गर्दा सरकारी कार्यालयमा विद्युत, इन्धन, खानेपानी लगायतमा वर्षभरिमा कम्तीमा डेढ अर्ब रुपियाँ बचत हुने हिसाबकिताब देखाएको थियो ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका प्रवक्ता शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिने वा नदिने विषयमा सरोकारवालाको सरसल्लाह सुझावका आधारमा निर्णय गरिएको जानकारी दिए । सर्माका अनुसार मन्त्रालयले नयाँ बिदाअनुसार चालु २०७९ सालको नयाँ शैक्षिक क्यालेन्डर तयार गरिरहेको बताए।
शिक्षा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । वर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।
• जेठबाट शिक्षण संस्था सातामा दुई दिन बिदा ।
• बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म विद्यालय समय ।
• हिउँदे, वर्षे बिदा, स्थानीय बिदा लगायत कटौती गरि वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने।
• विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने ।
