शुक्रवार, जेठ २० २०७९
जेठ, २० रुकुम - सानीभेरी गाउँपालिका पश्चिम रुकुमले शैक्षिक गुणस्तर सुधारका लागि भन्दै सुझाव संकलन कार्यको थालनि गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रलाई सबैभन्दा पहिलो प्राथमितामा राख्ने भन्दै शैक्षिक गुणस्तर सुधारका कार्यहरु गर्न सुझाव संकलन गर्न थालेका हुन्।
स्थानीय तहको निर्वाचन पश्चात् जेठ १५ गते बसेको कार्यपालिकाको पहिलो बैठकले शाखा अधिकृत भूपालसिं विष्टको संयोजकत्वमा शैक्षिक सुधारका लागि सुझाव संकलन कार्यदल गठन समेत गरिसकेको छ।
विहिबार सानिभेरी गाउँपालिका शिक्षा शाखामा बसेको कार्यदलको बैठकले अनुगमन तथा तथा सुझाव संकलन कार्य शुरु गर्ने निर्णय समेत गरेको बताइएको छ।
कार्यदलले हाल सानिभेरी गाउँपालिकामा संचालनमा रहेका ४५ वटै बिद्यालयहमा अनुगमन तथा सुझाव संकलन कार्यको शुरुवात गरेको जनाइएको छ।
कार्यदलको बैठक पश्चात सानीभेरी ३ का चौखे र ज्यामिरे गरी २ विद्यालयमा पुगि बिद्यालयको अनुगमन तथा सुझाब संकलन गरिएको कार्यदलका संयोजक भूपालसिं विष्टले जानकारी दिनुभयो।
बिष्टका अनुसार सानीभेरी गाउँपालिका भित्र रहेका ४५ वटै विद्यालयमा पुगेर अनुगमन तथा सुझाब संकलन गरे पश्चात जेठ २९ गते सानीभेरी गाउँपालिकामा सरोकारवालाहरु संग वृहत शैक्षिक सुधार अन्तरक्रिया गर्ने र कार्यदलले अन्तर्क्रियाबाट आएका सुझावहरु समेतलाई समेटि कार्यपालिका समक्ष शैक्षिक सुधारक प्रदिवेदन पेश गर्ने तयारी समेत भएको बताए।