बुधवार, जेठ २५ २०७९
जेठ, २५ काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को लापरवाही गर्दै आएको छ । स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी छ, सकिएको छैन पुन: राजनीतिशास्त्र विषय पनि अलग अघिल्लो बर्षकै प्रश्नपत्र हुबहु मेल खाएको हो।
२३ जेठमा सञ्चालित राजनीति शास्त्रको स्नातकोत्तर तह पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ । यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै छ । खाली प्रश्नपत्रको क्रममात्र तलमाथि गरिएको छ ।


यस बिषयमा मानविकी संकायकी डीन प्रा.डा. कुसुम शाक्यले पटक पटक समस्या दोहोरिन थालेपछि प्रणालीमाथि नै प्रश्न उठेको बताइन् । ‘फेरि उही समस्या दोहोरिएको छ । अब यसमा पनि छलफल हुन्छ । अहिले नै के गर्छौं भन्न सक्ने अवस्था रहेन । अब प्रणालीमाथि नै छलफल गर्नुपर्ने देखियो’ उनले भनिन् । यस विषयमा केन्द्रीय परीक्षा समितिमा जानकारी गइसकेको र अब बृहत छलफल हुने शाक्यले जानकारी दिइन् ।
यसअघि जेठ १८ गते लिइएको अर्थशास्त्रको स्नातकोत्तर तह तेस्रो समेष्टरको पब्लिक इकोनोमिक्स विषयको प्रश्नपत्र पनि गत वर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएको पाइएको थियो । यो विषयमा त्रिभुवन विश्वविद्यालयले छानबिन गरिरहेको छ ।
त्रिभुवन बिश्वबिद्धालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले राजनीति शास्त्र विषयको प्रश्नपत्र दोहोरिएको बारेमा भर्खरै थाहा पाएको बताए । ‘अस्तिको (अर्थशास्त्रको प्रश्नपत्र दोहोरिएको) विषयमा छलफल भइरहेको छ । हिजोको परीक्षामा पनि त्यस्तो समस्या दोहोरियो भनेको भर्खरै सुन्दैछु । बुझेर छानबिन प्रक्रिया अघि बढाउछौं ।’
यस वर्षको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र हुबहु मिल्नु सामान्य नभएको र यसले प्रश्नपत्रको गोपनीयतामाथि नै प्रश्न उठेको प्राध्यापकहरु बताउँछन् ।