मंगलवार, जेठ ३१ २०७९
जेठ, ३१ काठमाडौ । पढाइ सुरु भएको एक महिना पूरा हुदा समेत कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । एक महिना बितिसक्दा समेत पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ ।
शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने,“केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ तर “पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ ।”
किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उनले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताए । उनले भने “पाठ्यपुस्तक छैनन्, कक्षा कोठामा त्यतिकै बस्नु भएन कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउने गरेका छौँ ।” उनले भने कक्षा ४, ७ र ९ को कोर्सनै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उनले बताए । शुक्लाफाँटाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् ।
त्यसैगरी पुनर्वास नगरपालिका– ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीका शिक्षक विजय उपाध्यायले विद्यालयमा पढ्ने ६० प्रतिशत जति विद्यार्थीले मात्रै नयाँ पाठ्यपुस्तक पाएको बताए । “विद्यार्थीको सङ्ख्या अनुसारको पाठ्यपुस्तक माग गरेकै छौंँ”, उनले भने, “जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीले पाठपुस्तकनै पु¥याउन सकिरहेको छैन । पाठ्यपुस्तक पाएका विद्यार्थीले समेत पूरै सेट पुस्तक पाएका छैनन् । एक दुई पुस्तकको अभावनै रहेको छ ।”
पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङ्ख्या भने थोरै छ ।
यद्यपि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख ध्रुव पन्तले भने सुदूरपश्चिमका नौ वटै जिल्लाका ७० देखि ८० प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको दाबी गरे । “कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन” उनले “अर्को हप्ताभित्रै अपुग भएका किताबसमेत आइपुग्छन् र त्यसका लागि काम अगाडि बढाएका बताए।
पन्तका अनुसार “बाढी पहिरोका कारण सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा काठमाडौंबाट पाठ्यपुस्तक पुग्न ढिलाइ हुन गएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक चलिसकेकाले चाँडै अपुग पाठ्यपुस्तक विद्यालयमा पुग्छन् ।”
स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशमा अझै ४०% पुस्तक पुग्न बाँकी रहेकी बताइएको छ।