आइतवार, आषाढ ५ २०७९
असार, ५ काठमाडौ । हुम्लामा ठूलो संख्यामा विद्यार्थीहरुमा ठेउला रोग देखिएको छ।हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ५७ विद्यार्थीलाई ठेउला (चिकेनपक्स) देखिएको हो।
उत्तरी नाम्खा गाउपालिका वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका छात्रबासमा बस्दै आएका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकोले श्रोतले जनाएको छ।
स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले एक विद्यार्थीमा देखिएको ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताए । "विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो देखिएको हो," उनले भने । ती विद्यार्थीका अनुहार, शरीर र पाखुराभरि ठेउला जस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुनसक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमूना सङ्कलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ लागेको बताए ।
उहाका अनुसार चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई हाल आइसोलेसनमा राखिएको बताइएको छ ।
विद्यार्थीहरुमा यस्तो लक्षण देखिएपछि यसको विश्व स्वास्थ्य सङ्गठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई जानकारी गराइसकिएको बताइएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ । रासस