बुधवार, श्रावण ११ २०७९
साउन, ११;काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ। राष्ट्रिय सूचना आयोगले सूचना नदिएको भन्दै परीक्षा नियन्त्रक जोशीलाइ २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको बताइएको छ।
बिज्ञप्ति अनुसार परिक्षा नियन्त्रण कार्यलयमा रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत जोशीलाई कारबही गरिएको आयोगले जनाएको छ ।
दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सक शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो ? यससम्बन्धी व्यवस्था कस्तो छ ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए। तर उनले मागेको सूचना सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) भित्र पर्ने विषय नभएको हुँदा सूचना माग गर्दा नै तत्काल उपलब्ध गराउनुपर्ने देखिने ठहर गर्दै सूचना माग्नेले राष्ट्रिय सूचना आयोगसमक्ष पुनरावेदन गर्न आउनुपर्ने अवस्था सिर्जना नहुनुपर्ने जनाएको छ ।
दासले आयोगमा निवदेन दिएपछि आयोगबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक–पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश गरिएको तर पनि सूचना मागकर्तालाई सूचना उपलब्ध नगराइएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “संविधानको धारा २७ मा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भन्ने उल्लेख भएको र सोही व्यवस्थाको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको हो ।”
आयोगले नगद भुक्तान गरी काठमाडौं प्रमुख जिल्ला अधिकारीलाई लेखेर पठाउन र सूचना मागकर्तालाई आवश्यक सूचना उपलब्ध गराउन आदेश दिएको छ । साथै प्रमुख जोशीलाई विभागीय कारबाही गरी त्यसको सूचना आयोगलाई पठाउन त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई पनि आदेश दिएको छ ।