मंगलवार, श्रावण १७ २०७९
साउन, १७ काठमाडौ । गुल्मीको रेसुंगा नगरपालिका–१३ स्थित घोर्ले माध्यमिक विद्यालय पहिरोको जोखिममा परेको छ। विद्यालयनजिकैबाट पहिरो खसेपछि विद्यालय जोखिममा परेको हो ।
विद्यालयको ग्राउन्ड सानो भएपछि पटक–पटक गरेर बनाइएको कम्पाउन्डको ग्याभिङ वाल पूर्ण रूपमा भत्किएको छ । बिद्यालय का प्रधानाध्यापक हिरा सिङ साराङकोटिका अनुसार विद्यालयको पक्की शौचालय नै भत्किने अवस्थामा रहेको र अहिले नियमित कक्षा बन्द गरिएको बताए।
पहिरोले सडक पुरेपछि विद्यालय पुग्ने विद्यार्थी र शिक्षकहरूलाई सास्ती भएको छ । ‘दिउँसो पढ्न थालेका बेला वाल भत्किँदा निकै डर लाग्यो । विद्यालय निकै जोखिमपूर्ण बन्यो,’ ‘कक्षा ९ मा अध्ययन गर्ने सुशील खत्रीले भने, ‘पहिरोले सडक पुरेकाले विद्यालय पुग्नै मुस्किल पर्छ ।’ विद्यालयमा दुई सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
करिब ४१ लाखको लागतमा ग्याबियन वाल निर्माण गरिए पनि त्यो सबै एकैचोटी भत्किएको पूर्ववडाध्यक्ष खुमबहादुर खत्रीले बताए । अब पानी परे २० लाखमा निर्माण गरिएको पक्की शौचालय पनि भत्किने भएकाले तत्काल समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ ।
ग्याबियन वाल निर्माण गर्न रेसुंगा नगरपालिकाको पनि पाँच लाख लागत परेकाले उपमेयर अमृतादेवी कुँवरले विद्यालयको अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा ग्याबियन वालको अवस्था देखेर आफूले भत्किने जोखिमका बारेमा प्राविधिकलाई संकेत गरेको उनले बताइन् । ‘प्राविधिक ज्ञान नभए पनि वालको अवस्था देखेर मैले त्यो बेला नै प्राविधिकलाई सचेत बनाएँ । तर, मलाई जमिन बलियो देखाए,’ उनले भनिन, ‘अहिले ठूलो क्षति भयो केही समयमै जोखिम न्यूनीकरणको उपाय खोज्छाैँ ।’ स्थानीयले भने भूगोलको अध्ययनविनै ‘एस्टिमेट’ गरेर वाल थप्दै जाँदा क्षति भएको बताएका छन् ।