सोमवार, मंसिर १९ २०७९
मंसिर, १९ काठमाडौ । चिकित्सा शिक्षा आयोगले अनुमती नपाएका शिक्षण संस्थाहरुमा भर्ना नगर्न विद्यार्थी र अभिभावक र सम्बन्धित सरोकारवालालाइ ध्यानाकर्षण गरेको छ। आयोगले एक बिज्ञप्ति जारी गर्दै केही शिक्षण संस्थाले अनुमति बिना नै विद्यार्थी भर्ना लिएकोमा त्यस्ता शिक्षण संस्थामा भर्ना नगर्न भनेको हो।
बिज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिइ कही शिक्षण संस्थाले चिकित्सा शिक्षा शिक्षाका विभिन्न विधामा भर्ना आव्हान गरेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ ‘विद्यार्थी, अभिभावक, र सम्बन्धित सरोकारवालाहरूलाई आयोगबाट मान्यता नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ ।’
त्यसैगरी प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुनेगरी भर्ना नगर्नु नगराउनु हुन र त्यसरी गरेको पाइएमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भक्तपुरको सूर्यविनायकस्थित सुवाल इन्टरनेशनल कलेजले नर्सिङ, फार्मेसी, एचए लगायत विषयमा करिब ३ सय विद्यार्थी भर्ना गरेको सार्वजनिक भएको थियो । अवैध शिक्षण संस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्ने कलेजका प्रिन्सिपल/संचालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रचलित चिकित्सा शिक्षा ऐन अनुसार नर्सिङ, फार्मेसी, एचए लगायत विषयको पठनपाठन गराउन आयोगबाट अनुमति लिनुपर्ने प्रावधान छ भने सिट निर्धारण समेत आयोगले गर्ने व्यवस्था छ । तर सुवाल कलेज संचालनमा रहेको विषयमा शिक्षा मन्त्रालय, आयोग, सीटीईभीटी, त्रिभुवन विश्वविद्यालय लगायत नियामक निकायले अनविज्ञता जनाउँदै आएका छन् ।
आयोगका सदस्यसचिव भोजराज काफ्लेले अनुमपति बिना संचालित शिक्षण संस्थालाई सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिएका छन् ।
सुवाल प्रहरी नियन्त्रणमा रहे पनि कलेजका कर्मचारीले विद्यार्थीलाई अनुमति लिने प्रक्रियामा रहेको भन्दै पठनपाठनलाई निरन्तरता दिने आश्वसन दिँदै आएका छन् । कानुनत: अनुमतिपछि कलेज स्थापना गरेर मात्रै भर्ना, पठनपाठन लगायत गतिविधि अघि बढाउन पाइन्छ ।
संचालक सुवालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्वान गरेको छ । प्रति विद्यार्थी ७५ हजारको दरले शुल्क लिएर २ करोडभन्दा बढी जम्मा गरेको अनुमान गरिएको छ । भर्ना भएका विद्यार्थीसँग ३ लाख ५० हजारको दरले पढाइ शुल्क लिने संचालकको तयारी रहेको थियो । अवैध कलेज संचालन गरेको थाहा पाएपछि नेत्रविक्रम चन्द्र निकट अखिल क्रान्तिकारीले तोडफोड गर्दै तालाबन्दी समेत गरेको छ ।