Jul 27 2026 | २०८३, श्रावण ११ गते

असार महिनामा संचालन गर्न सकिने विभिन्न विषयगत कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरु -अभिषेक घिमिरे

असार महिनामा संचालन गर्न सकिने विभिन्न विषयगत कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरु -अभिषेक घिमिरे

  • 1.0K
    SHARES

  • असार महिनामा संचालन गर्न सकिने विभिन्न विषयगत कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरु -अभिषेक घिमिरे

    असार महिनामा संचालन गर्न सकिने विभिन्न विषयगत कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरु -अभिषेक घिमिरे (विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसमा आधारित)

    असार २ गते: विश्व मरुभुमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस/ चुरे संरक्षण दिवस:

    विश्वमा मरुभूमीकरण किन बढ्दै छ ? यसका कारण तथा असर के के हुन् ? यसलाई रोक्न के गर्नु पर्दछ ? जस्ता विषयमा विद्यार्थीलाई खोज्न लगाउने, नेपालको सन्दर्भमा वनजंगल मासिंदै गएको, पानीको मुहान सुक्दै गएको, सुखापन बढ्दै गएको, जमिनको उर्बराशक्ति क्षीण हुँदै गएको जस्ता विषयमा के कारण रहेछ भनेर खोजमूलक परियोजनात्मक कार्य गर्न दिने, खडेरीका कारण हुने पर्यावारणीय असन्तुलन र यसका कारण हुने अतिवृष्टि, अनावृष्टि तथा अल्पवृष्टि जस्ता विषयमा छलफल गर्ने, वनजंगलमा हुने डढेलो नियन्त्रणका लागि गर्नुपर्ने काम लगायतका विषयमा बालबालिकासंग छलफल गर्ने,

    चुरे क्षेत्र भनेको के हो ? यसको संरक्षण किन गर्नुपरेको हो ? यसले नेपालको पर्यावारणीय सन्तुलनमा कस्तो भूमिका खेलेको छ ? जस्ता विषयमा विद्यार्थीलाई जानकारी दिने, हाल बालुवा तथा गिट्टी उत्खननका लागि चुरेको दोहन भएका समाचार आइरहेका छन् , ती समाचार संकलन गरेर यसको वास्तविक समस्या के हो भनेर गहिराइमा जान लगाउने, समाधान सहितका रिपोर्ट बनाएर कक्षामा प्रस्तुति गर्न लगाउने, चुरे क्षेत्र नजिक पर्ने स्थानका विद्यालयमा भने जनचेतनामूलक र्याली, सभा सम्मेलन लगायतका कार्यक्रम संचालन गरेर चुरे सम्बन्धी जागरणमूलक गतिविधि संचालन गर्ने,

    असार ५ गते: द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस:

    द्वन्द वा युद्धका बेला बालबालिका, महिला, वृद्धवृद्धा, अपाङ्गता भएका, युद्धमा भाग नलिएका सबैजना माथि हुने अत्याचार के हुन् भनी छलफल गराउने, नेपालमा दशवर्षे जनयुद्ध वा अन्य संघर्षका बेलामा यौन दुर्व्यवहारमा परेका व्यक्तिका बारेमा आएका समाचार, रिपोर्ट लगायतको अध्ययन गर्न लगाउने, त्यस्ता हिंसाका प्रकृति, कारण लगायतका विषयमा खोज्न लगाउने, यस विषयमा आवद्ध गैर सरकारी संस्था, नेपाल प्रहरी, अनुसन्धान एजेन्सी लगायतका अध्ययन प्रतिवेदन हेर्न लगाउने, यसको नियन्त्रण गर्न के गर्नु पर्ला भनेर समुहगत छलफल गर्न लगाउने (यहाँ प्रस्तुत गरिएका विषयवस्तु कक्षा ८ देखि माथिका विद्यार्थीका लागि उपयुक्त हुन सक्ने)

    असार ६ गते: विश्व शरणार्थी दिवस/ विश्व योग दिवस/ संगीत दिवस:

    शरणार्थी दिवस: यस दिन तीन वटा दिवस परेको कारण यसलाई तहगत रुपमा मनाउने सकिने, कक्षा ८ देखि माथिका विद्यार्थीलाई शरणार्थी समस्याका बारेमा छलफल गराउने, यस सम्बन्धमा बनेका चलचित्र तथा वृत्त चित्र देखाउने, नेपालमा भुटानी शरणार्थी समस्याको बारेमा अध्ययन गर्न लगाउने, हालै शरणार्थीको मुद्धामा पक्राउ परेका पुर्व गृहमन्त्री लगायतका कारण, यस विषयका विकृत्ति लगायतका विषयमा छलफल गर्न लगाउने, रिपोर्ट बनाएर प्रस्तुत गर्न लगाउने,

    योग दिवस: नेपाल सरकारले योग दिवसलाई योग सप्ताहका रुपमा मनाउंदै गरेका कारण हरेक दिन विहान योग कार्यक्रम संचालन गर्ने, योग विधि तथा यसका फाइदाका बारेमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, अभिभावक तथा अन्य व्यक्तिलाई विद्यालयमा बोलाई संयुक्त रुपमा योग ध्यान कार्यक्रम संचालन गर्ने,

    संगीत दिवस: संगीत दिवसको अवसर पारेर विद्यार्थीहरुबीच अन्तर सदनात्मक वा एकल गायन प्रतियोगिता आयोजना गर्ने, शिक्षक विद्यार्थी सबै संयुक्त रुपमा सहभागी हुने, संगीत क्षेत्रमा लागेका विद्यालयका पुर्व विद्यार्थी, अभिभावक वा विद्यालयको नजिकमा रहनु हुने कोही व्यक्तिलाई वा नभएमा विद्यालयको संगीत शिक्षकलाई एसेम्बलीमा सम्मान गर्ने

    असार ९ गते: राष्ट्रिय कविता दिवस:

    देशका जीवित तथा दिवंगत महत्वपुर्ण कवि तथा लेखकको फोटो प्रिन्ट गरी टाँस गर्ने, साहित्य (कविता लेखन) का क्षेत्रबाट उहाँहरुले पुर्याएको योगदानको विषयमा चर्चा गर्ने, विद्यालयमा कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गर्ने, स्थानीय कवि तथा साहित्यकारलाई बोलाएर कविता सम्मेलन आयोजना गर्ने, बालबालिकालाई कविता लेख्ने सरल उपाय सिकाउने, उस्तै सुनिने शब्द संकलन गरी कविता लेख्ने खेल खेल्ने,

    असार ११ गते: अन्तर्राष्ट्रिय लागु पदार्थ दिवस तथा अवैध तस्करी विरुद्ध दिवस:

    बालबालिकालाई लागू औषध तथा लागु पदार्थ दूर्व्यसनका बारेमा जानकारी दिने, यसका हानि तथा असरका बारेमा जनचेतनामूलक कार्यक्रम गर्ने, लागू पदार्थ दुर्व्यव्सनका बिरुद्ध बनेका जनचेतनामूलक वृत्तचित्र तथा अन्य सान्दर्भिक भिडियो देखाउने, यसका विषयमा विद्यार्थीसंग छलफल गर्ने, लागू औषधबाट छुटकारा पाएका तथा पुनर्जीवन पाएका कुनै व्यक्तिलाई विद्यालयमा बोलाएर आफ्ना अनुभव सुनाउन लगाउने, नेपाल प्रहरीसंग सहकार्य गरेर विद्यालयमा बोलाई यसका कानूनी पक्ष तथा समाजमा यसले पारेको नकारात्मक पाटोका विषयमा बताउन लगाउने,

    असार १३ गते: राष्ट्रिय वन दिवस:

    वातावरण दिवसको दिनझैं कार्यक्रम आयोजना गर्न सकिनेछ, वन जंगल किन आवश्यक छ ? यसलाई किन जोगाउनुपर्दछ ? वनजंगल विनासका कारण के के हुन्? पर्यावरणीय सन्तुलनमा वनजंगलको के महत्व हुन्छ ? वन्यजन्तु र वनजंगलको सम्बन्ध के हो ? वनजंगल अतिक्रमणका बहुआयामिक असर के हुन् ? वनजंगललाई कसरी संरक्षण गर्ने ? जस्ता विषयमा विद्यार्थीलाई बुझाउने, छलफल चलाउने, सृजनात्मक कार्यक्रम आयोजना गर्ने, विज्ञलाई विद्यालयमा बोलाएर उनीहरुका कुरा सुन्ने, बालबालिकालाई विभिन्न परियोजनात्मक क्रियाकलाप दिएर प्रस्तुति गर्न लगाउने, वन जंगलमा लाग्ने डढेलोको रोकथामका उपायका बारेमा छलफल गर्ने,

    असर १५ गते: राष्ट्रिय धान दिवस:

    धान दिवसलाई विद्यालयले पहिले देखि नै विभिन्न कार्यक्रम गरेर मनाउंदै आएको कारण लेखिरहनु परेन, विद्यालयले देखाउनका लागि मात्र नभएर विद्यार्थीलाई वास्तविक जीवनसँग जोडेर मात्र कार्यक्रम आयोजना गर्नुहोला !

    (काठमाडौँको कुनै एउटा विद्यालयले धान रोप्ने केही समय अगाडि धानको बिउ रोप्यो, असार १५ गते विद्यार्थीले त्यो बिउ रोपे, केही महिना पछि गएर धान गोडे, पाके पछि आफैं गएर धान काटे, विद्यालयमा ल्याएर धान झारे र केटि फलेछ भनेर माना पाथी तथा अन्य वैज्ञानिक आधारमा मापन गरे, मिलमा लगेर धान कुटाए अनि विद्यालयमा सबै जम्मा भएर पकाएर खाए ! यसरी सिकाउँदा धान उत्पादनको एक पूर्ण चक्र पनि विद्यार्थीले सिक्न पाए र आफैंले फलाएको धानको चामलको भात खाना पाउँदा दङ्ग पनि परे ! किसानको दु:ख पनि बुझे, बाली लगाउने क्रममा आउने समस्या पनि बुझे, विभिन्न किटाणु, रोग किटनासक औषधी, रासायनिक मल, प्रांगारिक मल लगायतको सर्वपक्षीय विश्लेषण (SWOT ANALYSIS) पनि गरे ! विस्तारै धानका प्रकार, यसको उत्पादन क्षमता लगायतका विषयमा अनि अभिरुची बढ्दै जानेछ )

    असार १७ गते: विश्व खेलकुद पत्रकार दिवस/ अन्तर्राष्ट्रिय सहकारी दिवस:

    सम्भव भएमा खेलकुद पत्रकारलाई विद्यालयमा आमन्त्रण गर्ने, खेलाडीलाई आमन्त्रण गर्ने र विद्यालयको एसेम्बलीमा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्ने, खेलकुदमा लाग्दै गर्दा आफूले भोगेका अनुभव, उपलब्धी तथा यस क्षेत्रमा लाग्न चाहनेले कसरी अगाडि बढ्ने जस्ता विषयमा उहाँहरुलाई बोल्न लगाउने,

    सहकारी दिवसको अवसरमा सहकारी भनेका के हुन् ? विद्यालय वा समुदायमा सहकारिताका कस्ता अभ्यास गर्न सकिन्छ, यसका फाइदा के के हुन् ? बचत किन गर्नुपर्छ ? लगायतका विषयमा कुनै सहकारी संचालक वा विज्ञलाई बोलाएर विद्यार्थीसंग अन्तरक्रिया गर्न लगाउने, बालबालिकाले बचत गर्ने (घर तथा विद्यालयलाई जोड्ने गरी) कार्यक्रम संचालन गर्ने

    असार १८ गते: गुरु पुर्णिमा/व्यास जयन्ती:

    गुरु सम्मान कार्यक्रम आयोजना गर्ने, गुरुको महिमाको विषयमा वक्तृत्वकला, निबन्ध लेखन तथा कविता वाचन प्रतियोगिता आयोजना गर्ने, व्यास ऋषिको बारेमा बालबालिकालाई जानकारी दिने, उनले तपस्या तथा सिद्धि गरेको तनहुँको व्यास गुफा, उनले रचना गरेको महाभारत लगायतका विषयमा विद्यार्थीलाई बताउने, छलफल चलाउने,

    असर २६ गते: विश्व जनसंख्या दिवस:

    जनसंख्या के हो ? जनसंख्या वृद्धि भनेको हो ? यसका फाइदा तथा बेफाइदा के हुन् भनेर कक्षामा छलफल चलाउने, विद्यार्थीलाई विश्वको जनसंख्या, छिमेकी देशको जनसंख्या, उमेर/लिंग/भौगोलिक आधारमा भएको जनसंख्याको भिन्नताको बारेमा बताउने, फरक फरक भौगोलिक अवस्थामा जनसंख्याको वितरण किन फरक पर्न गएको होला भनेर छलफल गर्ने, आफ्नो नगर वा वडाको जनसंख्या खोज्न लगाउने, वर्गीकरण गर्न लगाउने, आफ्नो टोलको जनसंख्या गणना गर्ने परियोजना कार्य दिने र रिपोर्ट प्रस्तुतीकरण गर्न लगाउने, जनसंख्या वृद्धिको असर तथा रोकथामका बारेमा समूहमा छलफल गराउने तथा निष्कर्ष निकाल्न लगाउने

    असार २९ गते: भानु जयन्ती:

    बिहानी एसेम्बलीमा भानुभक्त आचार्यको बारेमा जीवनी सुनाउने, कुनै एउटा कक्षाकोठालाई “भानुभक्त कक्ष” नामाकरण गर्ने तथा उनको फोटो कक्षाकोठा बाहिर झुन्ड्याउने, उपलब्ध भएमा भानुभक्त आचार्यको चलचित्र प्रदर्शन गर्ने, कविता प्रतियोगिता तथा वाचन कार्यक्रम आयोजना गर्ने, नगर/टोलमा भएका कवि/साहित्यकारलाई विद्यालयमा बोलाएर सम्मान गर्ने, नेपाली विषयका गुरुलाई नेपाली भाषाको उत्पति, यसको विकास तथा महत्वका बारेमा केही भन्न लगाउने, भानुभक्तको जीवनीमा आधारित भएर नाटक मन्चन गर्ने, भानुभक्तले रचना गरेका श्लोक वाचन गर्ने, शालिक वा फोटोमा माल्यार्पण गर्ने ।

    (लेखक घिमिरे बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक हुन।)

     

    images
    आइतवार, आषाढ १० २०८००७:०७:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार