सोमवार, माघ १ २०८०
माघ १ गते स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बिमाको अवधारणा अघि बढाइएको हो।
स्याङ्जाको चापाकोट नगरपालिकाले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको बताइएको छ। पालिकाका अध्यक्ष देवबहादुर खाणका अनुसार आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको बताए । अध्यक्ष खाणले भने “बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने अभिभावक वा घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिँदा उपचारमा सहयोग पुग्छ र सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै जान्छ ।”
नगरपालिकाभित्र ४५ सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यका लागि न्यूनतम रु तीन हजार पाँच सय बीमाबापतको रकम नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । उक्त रकमले पाँच जनासम्मको परिवारले एक वर्षको अवधिसम्म रु एकलाख बराबरको उपचार खर्च गर्न पाउने छन् ।
नि:शुल्क स्वास्थ्य बिमाको लागि नगरपालिकाले कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । उक्त कार्यक्रमले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुग्ने बिश्वास लिइएको छ।
साथै पालिकाले सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय बनाउनका लागि पनि पालिकाले आवश्यक नीति, कार्यविधि तथा बजेटको सुनिश्चित गरेको बताइएको छ। नगरपालिकामा माध्यमिक तहका १६, आधारभूत तह (१–८)का पाँच, आधारभूत (१–५) का १४ र आधारभूत (१–३) का १० विद्यालय रहेका छन् । हाल नगरका १० वडामा रहेका ४५ सामुदायिक विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेका तथ्याङ्क छ ।