शनिवार, माघ ६ २०८०
माघ, ६ गते काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नर्सिङ तर्फ भर्ना अबरुद्ध हुनु अब्यबहारिक भन्दै नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले माननीय, मन्त्री र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउदै रोकिएको भर्ना लिई कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ऐन, २०४५ अनुसार सञ्चालनमा रहेका स्वास्थ्य तर्फका प्रवीणता प्रमाण पत्र तह मेडिकल, डेन्टल र नर्सिङका कार्यक्रमहरू रहेकोमा केही द्विविधा सृजना भई मेडिकल, डेन्टलतर्फ कार्यक्रमहरू पूर्ववत् सुचारु रहेका तर नर्सिङतर्फ भर्ना अवरुद्ध भएकोमा समितिले यसलाई अव्यवहारिक भन्दै भर्ना लिई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रवीणता प्रमाणपत्र तह नर्सिङ (स्टाफ नर्स) विषय पढाउनेको लागि १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा आयोगको मापदण्ड छ । उत्तम मापदण्ड पुरा गर्न नसकेका ७३ वटा नर्सिङ कलेजहरूले २०७८ सालदेखि विद्यार्थी भर्ना लिन पाएका छैनन् ।
यस विषयमा समितिले उनीहरुले मापदण्ड तयार भई लागू नहुँदासम्मका लागि कोभिड – १९ को बन्दाबन्दीको समयलाई शून्य समय मानी आफ्नै १०० शय्याको अस्पताल बनाउन ७ वर्षको (२०७५ देखी ५ वर्ष भुक्तान भइसकेकोले थप २ वर्ष मात्र) को समय दिई नर्सिङ कार्यक्रम सञ्चालन गर्ने र नयाँ मापदण्ड बनेपछि सोही अनुसार गर्न समेत भनेको छ ।
त्यस्तै चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्था बमोजिम २ वर्षभित्र आफ्नै अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था भएकोमा कोभिड– १९ को शून्य समयको कारणले आफ्नै अस्पताल बनाउन नसकेका संस्थाहरूको हकमा हाललाई नर्सिङ शिक्षाको गुणस्तर कायम गर्न प्रयोगात्मक अभ्यासको सुनिश्चितताको लागि १०० (सय) शय्याको अन्य कुनै पायक पर्ने अस्पताल (सरकारी, निजी, गैरसरकारी) सँग सम्झौता गरी सो कार्यक्रम सञ्चालन गर्ने भनेको छ ।
चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली २०७७ र प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ का बिचमा केहि विरोधाभास र दोहोरो अर्थ लाग्ने प्रावधान देखिएकोले आयोगका र परिषद्का पदाधिकारीहरूले छलफल गरी कानुन वा नियमावली संशोधन गरी स्पष्ट पार्न समेत भनेको हो ।
त्यस्तै ऐनको सबै मापदण्ड पुरा गरी स्वीकृतिको निम्ति प्रक्रियामा रहेका नयाँ शिक्षालयहरूलाई प्रवीणता प्रमाणपत्र तह नर्सिङ (स्टाफ नर्स) को स्वीकृति प्रदान गर्ने समेत भनेको छ ।

