आइतवार, माघ ७ २०८०
माघ, ७ गते काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आइतवार प्रतिष्ठानका उपकुलपति डा.प्रह्लाद कार्कीलाई आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिदै भन्नुभयो, '‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस्'’।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले यही माघ २ गते नै स्वास्थ्य मन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए । बीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक कर्मचारीहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।
यसअघि धनारन उपमहानगरका मेयर हर्क साम्पाङले उपकुलपतिले चिकित्सक तथा कर्मचारीहरुको माग सम्बोधन गर्न नसके राजिनामा दिम भन्दै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर सर्वोच्च अदालतको आदेश पछि ताला खोलिएको थियो।