सोमवार, फाल्गुण १४ २०८०
फागुन, १४ काठमाडौ । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०/८१ का लागि लिएको एकीकृत प्रवेश परीक्षामा लापरबाही र चलखेल भएको दाबी गर्दै छानबिन गर्न सरकारसँग माग गरेको छ।
अनेरास्ववियुकि अध्यक्ष आरती लामाको नेतृत्वमा सोमबार शिक्षा मन्त्रालय पुगेको अनेरास्ववियूको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई शिक्षा क्षेत्रका ६ बुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो।
‘चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०/८१ का लागि लिएको एकीकृत प्रवेश परीक्षामा भएको लापरबाही र चलखेलबारे छानबिन समिति बनाई तुरुन्त छानबिन अघि बढाइयोस् मागपत्रमा भनिएको छ।
एमडी/एमएस विथ इक्सप्रेन्स (डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी) अन्तर्गत विदेशी विद्यार्थीका लागि सार्वजनिक विद्यार्थीमध्ये ५ जना भारतमा लिने प्रवेश परीक्षामा कैयौँपटक फेल भएको तथ्य खुल्नुले नेपालको चिकित्सा शिक्षा योग्यता क्रमको आधार निर्धारण गर्ने प्रक्रियामै आशंका उब्जिएको मागपत्रमा उल्लेख गरेको छ।
यस्तो छन मागहरू ।
१. चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०/८१ का लागि लिएको एकीकृत प्रवेश परीक्षामा भएको लापरबाही र चलखेलबारे छानबिन समिति बनाई तुरुन्त छानबिन अघि बढाइयोस्।
२. नेपालमा मेडिकल कलेजको अभाव हुँदै गएको सन्दर्भमा भारतमा स्थापना गरिएका मेडिकल कलेजहरूमा नेपाली कोर्स पढाइ हुने, नेपाली शिक्षकले पढाउने र विद्यार्थीसमेत नेपाली नै बहुसंख्यक हुने अवस्था बनेको छ। तरती विद्यार्थीका लागि त्यहाँ काउन्सिल नहुँदा विद्यार्थी मर्कामा परेका छन्। यस समस्याको ठोस समाधानको लागि अविलम्ब पहलकदमी अघि बढाइयोस्। यसबाट भइरहेको जनशक्ति, आर्थिक एवं विद्यार्थी पलायनको भयावह स्थिति नियन्त्रण गरियोस्।
३. नेपाल स्वास्थ परिषदले लिने नाम दर्ता (लाइसेन्सन इक्जाम) परीक्षालाई व्यवस्थित, मर्यादित र पारदर्शी ढंगले सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्।
४. नेपाल स्वास्थ परिषदले लिने नाम दर्ता (लाइसेन्सन इक्जाम) परीक्षा वर्षमा ४ पटकसम्म हुने, प्रत्येक पटकको शुल्कप्रति विद्यार्थी ३००० (दोब्बर दस्तुर ६०००) लिने गरिएकोमा एकपटक परीक्षा दिइसकेको विद्यार्थीले पुनः परीक्षा दिँदासमेत सोहीबमोजिम गर्नुपर्ने कुरालाई सच्याइयोस्। पुनः परीक्षा दिने विद्यार्थीलाई न्युनतम शुल्क (५००) बुझाए पुग्ने व्यवस्था मिलाइयोस्।
५. नेपाल स्वास्थ परिषदले लिने नाम दर्ता (लाइसेन्सन इक्जाम) परीक्षामा सामेल हुने विद्यार्थीले आफूले चाहेको खण्डमा आफ्नो प्राप्ताङ्क हेर्न पाउने व्यवस्था मिलाइयोस्।
६. सेलेबल्सभन्दा बाहिरबाट प्रश्न पत्रको निर्माण गर्ने काम बन्द गरियोस्।


