सोमवार, फाल्गुण २८ २०८०
फागुन, २८ गते काभ्रे । बनेपामा अवस्थित आदर्श विद्या मन्दिर स्कुलले स्वस्थ जीवनशैली जिउन सीप सिकाइका लागि योग शिविर संचालन गरेको छ। 'गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ स्कुलले कक्षा १० देखि १२ सम्मका विद्यार्थी र शिक्षकका लागि फागुन २८ देखि फागुन ३० गतेसम्म तीन दिने योग शिविरको सुरुवात गरेको हो।

योग शिविरबाट विद्यार्थीहरूलाई अनुशासित बन्न मात्र नभएर स्वस्थ जीवन जिउन र असल नागरिक बन्नका लागि मद्दत पुग्ने पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष योगगुरु ग्रोवेन तौजलेले बताए । उनले हरेक वर्ष विद्यालयमा गरिँदै आएको योग शिविरले विद्यार्थीलाई रचनात्मक बन्नका लागि उत्प्रेरित गरेको तर्क गरे।

काठमाडौँ विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालयको सहकार्यमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ जीवनशैली जिउने सिप सिकाइका लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको एकाइ–११ अन्तर्गत रहेर विद्यार्थीहरूले अनिवार्य रूपमा सिक्नुपर्ने प्रयोगात्मक योग ध्यान र स्वस्थ जीवनशैली सम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गरिएको बताइएको छ।

योग अभ्यासलाई विद्यार्थी शिक्षकको आन्तरिक मूल्याङ्कनको विषय बनाउनुका साथै छिमेकी विद्यालयहरूलाई पनि आमन्त्रण गरिएको छ । आदर्श विद्या मन्दिरले सामाजिक अध्ययन विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिक जीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकाससम्बन्धी पाठहरूलाई व्यावहारिक रूपमा सिकाउँदै आएको छ ।
