आइतवार, बैशाख ७ २०८२
बैशाख, ७ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहिलो बैठकले त्रिभुवन विश्वविद्यालयमा कुनैपनी किसिमको ताला बन्दी नगर्ने निर्णय गरेको छ। पदभार ग्रहण गरेपछि पहिलो पटक बसेको स्ववियुको बैठकले यस्तो निर्णय गरेको हो।
जुनसुकै ढोका पनि ज्ञान र संवादका लागि खुला हुनुपर्छ भन्ने मान्यता राखेर क्याम्पसभित्रका कुनै पनि संस्था, कक्षा वा कोठामा स्ववियुको नाममा ताला नलगाउने निर्णय गरिएको बताइएको छ।
त्यस्तै बैठकले पारदर्शिता र सहभागिता सुनिश्चित गर्न स्ववियुका बैठकहरू प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने र विद्यार्थीका आवाज तुरुन्तै सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ।
विश्वविद्यालयका उपकरणहरूको मर्मत–सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरी सम्बन्धित निकायमार्फत काम अघि बढाउने निर्णय समेत बताइएको छ। चैत १८ गते भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को तर्फबाट उम्मेद्वारी दिएका जोशी स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरूको पद तथा गोपनियताको सपथ गत शुक्रबार मात्रै भएको थियो ।